अभिनेता सौगात मल्लको दुई दशक पुरानो सपना ‘जार’ मार्फत पूरा



काठमाडौं – साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’ मा आधारित चलचित्र ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदै छ । फुर्वा छिरिङ लामाद्वारा निर्देशित यस चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको प्रमुख भूमिका रहेको छ ।

अभिनेता सौगात मल्लले दुई दशकअघि राईको कथा ‘जार’ पढेदेखि नै यसमा काम गर्ने इच्छा राखेका थिए । २ दशक अघि गुरुकुलमा ‘जार’ नाटक हेरेका सौगातले त्यसमा अभिनय गर्न नपाए पनि नाटक पढेको बताए । उनले भने, “त्यो समयमा म एउटा फिल्ममा अनुबन्धित भइसकेको थिएँ, जसले गर्दा यो नाटकमा काम गर्न पाइनँ । तर नाटक पढ्ने मौका पाएँ । कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई चार दिनसम्म सुत्नै दिँदैन । मलाई पनि त्यस्तै भयो ।”

सौगातले ‘जार’को कथा पढ्दा नै यसलाई नाटक बनाउने सोचेको तर सिनेमाबारे नसोचेको बताए । दुई दशकपछि सिनेमाका लागि प्रस्ताव आउँदा उनी आश्चर्यचकित भए । मुख्य मात्र नभई जुनसुकै भूमिकामा पनि ‘जार’मा काम गर्न तयार रहेको उनले बताए । यद्यपि, मुख्य भूमिकाको प्रस्ताव आउँदा उनी झनै खुसी भए ।

सौगातका अनुसार चलचित्रमा उनले निर्वाह गरेको चरित्रबारे पुस्तकमा पढ्दा उनको शरीरमा काँडा उम्रिएको थियो । उनले कागबेनीको चरित्रपछि ‘जार’लाई विशेष रूपमा राखेको बताए । गुरुकुलमा इन्द्रबहादुर राई आउँदा उनले ‘जार’मा नाटक गर्ने इच्छा व्यक्त गरेका थिए र चरित्रबारे कुराकानी पनि भएको थियो । तर अन्य चलचित्रमा अनुबन्धित भएका कारण त्यति बेला काम गर्न नपाए पनि भविष्यमा ‘जार’को कथामा चलचित्र बनेमा उक्त पात्र निभाउने प्रतिबद्धता उनले जनाएका थिए ।

कथा पढेपछि तीन महिनासम्म ‘जार’कै पात्रमा रहेको अनुभव सौगातले सुनाए । उनले भने, “मैले जब यो कथा पढेँ, मलाई यसरी तान्यो कि म त्यसभित्रै डुबेछु । तीन महिनासम्म त जारबारे कसैले कुरा गरे पनि मैले त यो खेलिसकेँ जस्तो लाग्थ्यो ।” आफूले काम गर्न चाहेको कथामा नाटक वा सिनेमा बनाउने वा काम गर्ने रहर हुँदा सोच्दा सोच्दै त्यो काम गरिसकेको जस्तो अनुभव हुने उनले बताए ।

कालान्तरमा त्यसैबाट प्रस्ताव आउनु सुखद संयोग र भाग्यमानी भएको सौगात बताउँछन् । उनले आफ्नो सपनाको सिनेमामा सोचेजस्तै काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाका साथै अन्य कलाकारको पनि अभिनय रहेको छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्मित यो चलचित्रको छायाङ्कन सिक्किममा गरिएको हो ।

‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुले छायाङ्कन गरेको चलचित्रको सम्पादन अखिलेश राईले गरेका छन् भने झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu