
काठमाडौं – ‘अञ्जिला’ निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ को लागि मुख्य अभिनेत्रीको रूपमा कलाकार उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । प्रेम कथामा आधारित यो चलचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा निर्माण हुने जानकारी निर्माण पक्षले दिएको छ ।
उपासनाको आगमनसँगै चलचित्रले आफ्नो प्रमुख कलाकार पाएको छ भने अब उनको जोडीको रूपमा देखिने अभिनेताको खोजी सुरु भएको छ । निर्माण पक्षले एक सूचना जारी गर्दै २० देखि २६ वर्ष उमेर समूहका बेलायतमा रहेका इच्छुक व्यक्तिलाई अडिसनमा सहभागी हुन आह्वान गरेको छ ।
निर्देशक चाम्सले ‘सुम्निमा’ एक विश्वव्यापी कथामा आधारित हुने र यसले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्ने बताएका छन् । उनले भने, “यसको कथावस्तु अन्तर्राष्ट्रिय स्तरको भएकाले हामी विदेशी दर्शकलाई पनि ध्यानमा राखेर काम गर्नेछौँ ।”
यसको छायाङ्कन आगामी जुलाई महिनादेखि नेपाल र बेलायतमा एकसाथ सुरु हुनेछ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्र निर्देशक चाम्सको करियरको ११ औँ निर्देशन हुनेछ । कथा तथा पटकथा राजीव थापाले तयार पारेका छन् ।
हालै निर्देशक चाम्सको बायोपिक फिल्म ‘अञ्जिला’ ले बक्स अफिसमा ५१ दिनको सफल यात्रा पार गरेको छ ।