
काठमाडौं – आज दुई नेपाली चलचित्रहरू ‘ऊनको स्वीटर’ र ‘जार’ देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आएका छन् । ‘ऊनको स्वीटर’ करिब ३ सय शो र ‘जार’ करिब १ सय शो सहित प्रदर्शनमा आएका हुन् ।
बुधवार काठमाडौंमा भव्य प्रिमियर गरिएको ‘ऊनको स्वीटर’ले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुलिसकेको छ । उपसभामुख इन्दिरा राना मगर लगायत विभिन्न विशिष्ट व्यक्तिहरूले चलचित्रको प्रशंसा गरेका छन् । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, सुरज तमु, सुनिल पोखरेल, भावना खपाङ्गी मगर लगायतको मुख्य भूमिकामा रहेको यो प्रेमकथालाई नवीन चौहानले निर्देशन गरेका हुन् । आर्टमाण्डूले निर्माण गरेको यस चलचित्रको अग्रिम टिकट बिक्री पनि उत्साहजनक रहेको छ ।
त्यसै गरी, मङ्गलवार ललितपुरमा विशेष प्रिमियर गरिएको चलचित्र ‘जार’ पनि आजबाट दर्शकमाझ आएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत थुप्रै विशिष्ट व्यक्तिहरूले चलचित्रको मौलिक कथा र प्रस्तुतिको प्रशंसा गरेका छन् । सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको मुख्य अभिनय रहेको यो चलचित्रलाई इन्द्रबहादुर राईको कथामा आधारित भएर फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।