
काठमाडौं – निर्देशक खिल बहादुर गुरुङको चलचित्र ‘रिमै’ को पहिलो झलक सार्वजनिक भएको छ । निर्माण टिमले बुद्ध जयन्तीको अवसर पारेर तीन आकर्षक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । अब यो चलचित्र आगामी भदौ २७ गतेबाट विश्वभरका सिनेमा घरमा प्रदर्शन हुनेछ ।
सार्वजनिक गरिएका तीन पोस्टरले चलचित्रका मुख्य कलाकार र कथाको झलक दिएका छन् । पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र नव-अभिनेत्री रिस्मा गुरुङलाई प्रस्तुत गरिएको छ । दोस्रो पोस्टरमा यी दुई कलाकारसँगै अभिनेत्री गौमाया गुरुङ पनि देखिएकी छन् । त्यस्तै, तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमाया लगायत सम्पूर्ण मुख्य कलाकारहरूलाई स्थान दिइएको छ । पोस्टरहरूमा कलाकारहरूलाई गुरुङ समुदायको परम्परागत वेशभूषा र संस्कृति झल्किने पहिरनमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेको अनुमान लगाउन सकिन्छ ।
‘रिमै’ मा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, बिरबल घले, डीबी गुरुङ, टेक गुरुङ र बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको सशक्त अभिनय रहेको छ ।