
काठमाडौं – जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’का मुख्य कलाकारहरू राज कटुवाल र सनिषा भट्टराईले बोलेको एक संवाद सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । टिकटक प्रयोगकर्ताहरूले यो संवादलाई लिएर थुप्रै भिडियोहरू बनाइरहेका छन् ।
यसको ट्रेलरमा समावेश प्रेमिल संवादमा राजले सनिषालाई सोध्छन्, ‘कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि बिर्सन सकिँदैन । तिमीलाई बिर्सिएर कसरी सास फेर्नु ।’ जवाफमा सनिषाले मार्मिक प्रश्न गर्छिन्, ‘को हौँ तिमी मेरो ?’
यो छोटो तर गहिरो संवादले दर्शकहरूलाई चलचित्रप्रति थप उत्सुक बनाएको छ । ट्रेलरमा देखिएको राज कटुवालको दमदार एक्सनलाई पनि दर्शकहरूले खुलेर प्रशंसा गरिरहेका छन् ।
दिवाकर भट्टराईद्वारा लिखित तथा निर्देशित यो चलचित्र एक्सन, प्रेम, बिछोड, वियोग, सस्पेन्स र थ्रिलरको मिश्रण भएको बताइएको छ । नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेद्वारा निर्मित यस फिल्ममा राजेश हमाल, नीति शाह, निर शाह, प्रशान्त ताम्राकार, राजिभ जङ्ग बस्नेत, रमेश चन्द सोडारी, र दीपा शाही जस्ता कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ ।