‘जन्ते बाख्रो’ राम्रो भएकोले दर्शकले थाहा पाउनु जरुरी छ: सन्तोष गौतम, निर्माता



काठमाडौं – जेठ २३ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ ले आफ्नो प्रचार अभियानलाई तीव्र पारेको छ । निर्माण पक्षले नेपालको पूर्वी क्षेत्रबाट प्रचार सुरु गरेको हो ।

चलचित्रका निर्माता सन्तोष गौतमका अनुसार, पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरूमा चलचित्रका प्रचार सामग्रीहरू व्यापक रूपमा प्रदर्शन गरिएको छ । उनी भन्छन्, “हामीले राम्रो चलचित्र बनाएकाले यसको जानकारी दर्शकले थाहा पाउन जरुरी छ । झापाका मुख्य सहरहरूमा चलचित्रका पोस्टर तथा अन्य प्रचार सामग्री राखिसकेका छौँ । हाम्रो लक्ष्य देशभर ‘जन्ते बाख्रो’मय वातावरण सिर्जना गर्नु हो ।”

हालसम्म सार्वजनिक गरिएका चलचित्रका तीन गीत ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन् । चलचित्रको ट्रेलर आज सोमबारदेखि इन्टरनेटमा उपलब्ध भएको छ । यी सबै सामग्रीहरू डिजिटल पार्टनर जी टूवान डिजिटल मार्फत हेर्न सकिनेछ ।

सिमोस सुनुवारको निर्देशनमा बनेको यस चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडीलगायतका कलाकारको अभिनय रहेको छ । मुईन इन्टरटेनमेन्ट को प्रस्तुतिमा बनेको ‘जन्ते बाख्रो’ को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक सुनुवारका अनुसार, यो चलचित्र विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu