
काठमाडौं – चलचित्र ‘कार्साङ’का निर्देशक यम शेर्पाको नयाँ चलचित्र ‘मिरमिरे’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो चलचित्रमार्फत निर्देशक शेर्पा र अभिनेता राईबीच दोस्रो पटक सहकार्य हुन लागेको हो ।
निर्माण टिमले हालै दयाहाङ राईलाई चलचित्रको मुख्य भूमिकामा अनुबन्ध गरेको हो । दयाहाङको इन्ट्रीसँगै निर्देशक शेर्पाले भने, “स्टोरी पिच गर्दा उहाँलाई मन परेपछि हाम्रो सहकार्य सम्भव भयो । अर्को सोसल ड्रामा लिएर हामी चाँडै आउँदै छौँ ।”
निर्देशक शेर्पाका अनुसार ‘मिरमिरे’मा कलाकारको लाइनअप निकै बलियो हुनेछ । यद्यपि, अन्य कलाकारको नाम भने अहिले खुलाइएको छैन । चलचित्रको निर्देशन र कथा दुवै यम शेर्पा स्वयंको रहनेछ । यार्सा फिल्मसको प्रस्तुतिमा बन्ने यो चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ ।
‘मिरमिरे’का निर्माताहरूमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन् भने गोविन्द बोहरा र ईश्वर श्रेष्ठ सह-निर्माता हुन् । चलचित्रको कार्यकारी निर्माताको रूपमा रोहित कट्टेल रहेका छन् ।
चलचित्र २०८२ भित्रै प्रदर्शनमा ल्याउने भनिए पनि प्रदर्शन मिति भने तय भइसकेको छैन । ‘मिरमिरे’लाई आरआर फिल्मसले देशभरका हलमा वितरण गर्नेछ ।