
काठमाडौं – गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘परी’ को शुभ मुहूर्त सम्पन्न भएको छ । शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा गरेर मुहूर्त गरिएको हो ।
मुहूर्त कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति थियो ।
किरण केसी र दीपाश्री निरौला दुवैले चलचित्रको स्क्रिप्ट निकै राम्रो लागेको बताए । उनीहरूले निर्देशक गोविन्द गौतमले स्क्रिप्टमा निकै मेहनत गरेकोमा प्रशंसा पनि गरे ।
यस चलचित्रमा किरण केसी र दीपाश्री निरौलाबाहेक प्रियङ्का कार्की, निदेश डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, सङ्गम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिला लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
निर्देशक गौतमले फिल्मको छायाङ्कन जेठ २८ वा २९ गतेदेखि दोलखा र तनहुँ आसपासमा सुरु गर्ने योजना रहेको बताए । यो चलचित्र परीको कल्पनामा आधारित कथावस्तुमा निर्माण गरिने जनाइएको छ ।