
काठमाडौं – आगामी जेठ २३ गते शुक्रवारबाट नेपालभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ले प्रचारप्रसारमा फरक शैली अपनाएको छ । टिमले शनिवार काठमाडौंमा ‘जन्ते बाख्रो साँझ’ कार्यक्रमको आयोजना गर्यो ।
सामाखुसीस्थित सिटी स्क्वायर मलको प्राङ्गणमा सम्पन्न ‘जन्ते बाख्रो साँझ’मा अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर गोङ्गबुस्थित बिजी मलबाट पञ्चेबाजासहित कार्यक्रम स्थलसम्म ल्याइएको थियो । सो क्रममा ‘जन्ते बाख्रो’ अङ्कित टिसर्ट लगाएका र बोकाको टाउकोसहितको कटआउट बोकेका युवाहरू जन्तीका रूपमा प्रस्तुत भएका थिए ।

उक्त साँझमा सिनेमामा समावेश गीतहरू ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’, र ‘मुकु मुकु म्या’का गायक-गायिका बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतले दर्शकलाई मनोरञ्जन दिए । कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरू आसिफ शाह, गरिमा शर्मा, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोस सुनुवार, लेखक प्रदीप भारद्वाज र निर्माता सन्तोष गौतमको उपस्थिति थियो ।

निर्देशक सुनुवारका अनुसार यस्ता प्रमोशनल कार्यक्रमले दर्शकलाई चलचित्रसँग प्रत्यक्ष जोड्न सहयोग पुर्याउँछ । मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’ मा अहिले गाउँघरबाट हराउँदै गएको भुईँमा लहरै बसेर टपरी र दुनामा भोज खुवाउने परम्परा तथा ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । निर्माण पक्षले यसले नयाँ पुस्तालाई मनोरञ्जनका साथै जानकारी पनि दिने विश्वास व्यक्त गरेको छ ।