
काठमाडौं – यस पटकको दसैँमा रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’को छायाङ्कन बागलुङको कालिका मन्दिरमा सम्पन्न भएको छ । यस गीतको भिडियोमा चलचित्रका अभिनेत्रीहरू उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् ।
५९ वर्षअघिको चर्चित यस गीतलाई नै यो चलचित्रमा समावेश गरिएको छ । गीतमा सञ्जीवनीको स्वर, किरण खरेलको शब्द र जयदेवको सङ्गीत रहेको छ । भिडियोको कोरियोग्राफी कमल राईले गरेका छन् ।
मिलन तामाङ ले निर्देशन गरिरहेको यस चलचित्रमा तामाङ संस्कृतिलाई पनि महत्त्वपूर्ण हिस्साको रूपमा समावेश गरिएको छ । सुसन प्रजापति को छायाङ्कन रहेको यस चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धिरज तामाङ को लगानी छ । कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन्।
यसमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।