
काठमाडौं – आउँदो भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेको भन्दै निर्माणपक्षले ‘बाहुन’ को ठाउँमा ‘मान्छे’ राखेर ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ नाम राखेको हो ।
नाम परिवर्तनसँगै निर्माणपक्षले चलचित्रको मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा विजय बराल रातो सर्टमा दुई वटा झोला बोकेर घरबाट निस्कन लागेको देखिन्छन् । आमाले रातो टीका लगाएर आशीर्वाद दिएको जस्तो देखिने उक्त पोस्टरमा बिहानको समयको सङ्केत र विजयको निन्याउरो अनुहारले घरपरिवार तथा आफन्तसँग छुट्नुपर्दाको पीडा दर्साउँछ । यसले गाउँको व्यक्ति सहर पुगेर गर्ने सङ्घर्षको कथा भन्ने सङ्केत गरेको छ । निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’ को ट्याग दिएको छ ।
छायाङ्कन सकिएर अहिले पोस्टप्रोडक्सनमा रहेको यो चलचित्र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायाङ्कन गरिएको थियो । निर्देशक हिमाल न्यौपाने का अनुसार ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले आमा र छोराबिचको भावनात्मक कथा प्रस्तुत गर्नेछ ।
अभिनेता मनिष राउत असोसिएट निर्देशकका रूपमा रहेका छन् । बलियो लाइनअप रहेको यस चलचित्रमा अभिनेता विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटा को मुख्य भूमिका छ । यसका साथै रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा बनेको यस चलचित्रका निर्माताहरू कमल न्यौपाने र विमल न्यौपाने हुन् भने सह-निर्माताहरूमा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिम्सिना र चूडामणि सिवाकोटी छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको यस चलचित्रमा नवीन गुरुङ डिओपी र कृष्ण परियारको सिनेमाटोग्राफी छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकाल ले लेखेका हुन् ।