सौगात मल्लको नजरमा ‘जन्ते बाख्रो’: परम्परा र अभिनयको अनौठो सङ्गम



काठमाडौं – नेपाली चलचित्र क्षेत्रका अब्बल अभिनेता सौगात मल्ल दर्शकमाझ आफ्नो पात्रलाई ‘बाँच्ने’ कलाकारका रूपमा परिचित छन् । जुनसुकै भूमिकामा पनि आफूलाई सहजै प्रस्तुत गर्न सक्ने खुबी भएका मल्लले, यदि पर्याप्त समय पाएमा हरेक क्यारेक्टरलाई नौलो ढङ्गले निर्माण गर्न सक्ने बताएका छन् ।

अभिनेता मल्लका अनुसार, एक चलचित्रको काम सकिएपछि केही समयको अन्तरालले नयाँ क्यारेक्टर निर्माण गर्न सहयोग पुग्छ । “एउटा सिनेमामा काम गरिसकेपछि केही समय पाइयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु । किनकि एउटामा काम गरिरहँदा लगत्तै अर्कोमा काम गर्न सहज हुँदैन,” उनले भने । आफ्नो पछिल्लो चलचित्र ‘जन्ते बाख्रो’ मा उनले लेखकसँगको छलफलबाट क्यारेक्टरलाई बुझ्ने र निर्माण गर्ने अवसर पाएकोले त्यो फरक देखिएको अनुभव सुनाए ।

सौगातले लेखिएको पात्रले भोग्ने कथा र परिवेशले आफूलाई अभिनयका लागि तयार गर्ने बताए । यद्यपि, पात्र तयार गर्दा उनको व्यक्तिगत भोगाइ पनि मिसिने गरेको स्वीकारे । निर्देशकको परिकल्पना र उनको बुझाइ मेल खाएपछि मात्रै त्यो पात्र पर्दामार्फत दर्शकमाझ पुग्ने गरेको उनको भनाइ छ । निर्देशकको पछिल्लो कामले आफूलाई खासै फरक नपार्ने उनको बुझाइ छ किनभने हरेक नयाँ कामको छुट्टै प्रतिफल आउँछ ।

“मलाई निर्देशकको पछिल्लो कामभन्दा पनि उसले म कहाँ ल्याएको विषय र त्यसको प्रस्तुतीकरणले आकर्षण गर्छ । पछिल्लो काम बिग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन,” उनले थपे । उनले विश्वभर आस नगरिएका निर्देशक र अभिनेताले पनि उत्कृष्ट काम गरेको उदाहरण दिँदै आफूकहाँ आएका प्रस्तावमध्येबाटै चलचित्र छनौट गर्ने गरेको स्पष्ट पारे ।

‘जन्ते बाख्रो’ र ग्रामीण जीवनको सम्झना

सौगातले ‘जन्ते बाख्रो’ ले आफ्नो ग्रामीण जीवनलाई स्मरण गराएको बताए । विशेष गरी गाउँमा हुँदा आफूले भोजभतेरमा सहभागी भएको किस्सा सुनाउँदै उनले भने, “गाउँमा हुँदा यस्ता भोजभतेरमा काम गर्न पुगिन्थ्यो । किनकि त्यहाँ सबै गाउँले मिलेर नै विवाहलगायतका गतिविधिमा सघाउने प्रचलन छ । मसहितको एउटा साथीको टिमले यस्ता विवाहमा धेरै पटक भोज तयार गरेका छौँ ।”

को-स्टार आशिफ शाह र गरिमा शर्मासँगको सहकार्य

चलचित्रमा सौगातले को-स्टार द्वय आशिफ शाह र गरिमा शर्मासँग पहिलो पटक काम गरेका हुन् । यद्यपि, आशिफसँग भने ‘कागबेनी’ मा अभिनय गर्ने समयमै सौगात परिचित थिए । उनीहरूबीच सँगै सहकार्य गर्ने छलफल भए पनि त्यो सफल हुन सकेको थिएन ।

“मैले पहिलादेखि नै चिनेकाले पनि काम गर्न सहज भयो । साथै, छायाङ्कन अगाडि हामीले पटकथामा छलफल गर्दा पनि एक अर्कासँग जानकार भयौँ । सोही कारण तपाईँले सार्वजनिक प्रचार सामग्रीमा हाम्रो ‘कम्फर्ट’ लाई देख्नुभएको होला । यो चलचित्र रमाइलो बनेको छ, हामीले छायाङ्कनमा पनि रमाइलो गरेका थियौँ,” सौगातले भने ।

‘जन्ते बाख्रो’ को अर्थ र परम्पराको महत्त्व

चलचित्रले परम्पराका विषयमा जानकारी दिँदै मनोरञ्जन दिने सौगातको बुझाइ छ । उनका अनुसार ‘जन्ते बाख्रो’ दुई प्रकारको हुन्छ: एउटा बेहुली लिएर फर्किएको जन्तीलाई बेहुली पक्षले बाटोमा खुवाउने र अर्को बेहुली भित्र्याएपछि हुने भतेर (भोज) । चलचित्रको कथालाई यसै प्रसङ्गसँग जोडेर तयार पारिएको उनले बताए ।

“हाम्रो परम्परा र संस्कृतिले एक आपसमा जोड्ने र सामीप्यता बढाउने गरेको पाइन्छ । पछिल्लो समय जन्ते बाख्रो खुवाउने प्रचलन पार्टी प्यालेसले बदलेको छ । त्यही कारण चलचित्रले हाम्रो परम्परा र संस्कृतिलाई प्रस्तुत गरेको छ, जहाँ रमाइलो र आत्मीयता पाइन्छ,” उनले थपे ।

सरल विवाहको चाहना

आफ्नो विवाहबारे सोधिएको प्रश्नमा सौगातले भव्यताभन्दा पनि सरलता मन पर्ने बताए । “भव्यताले मलाई कहिले पनि आकर्षित गरेन, मेरो विवाह हुँदा पनि सरल नै हुन्छ किनकि म त्यस्तै रुचाउँछु,” उनले भने ।

चलचित्रमा सौगात मल्लसँगै आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय छ ।

सन्तोष गौतमले निर्माण गरेको तथा सिमोस सुनुवारले निर्देशन गरेको यस चलचित्रमा भुईँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । निर्माण पक्षले नयाँ पुस्ताका लागि यो चलचित्र मनोरञ्जनसहित जानकारीमूलक हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu