
काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘परालको आगो’ मा दशकौँ पुरानो तर सदाबहार गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ समावेश हुने भएको छ । चलचित्र निर्माण टोलीले यस कालजयी गीतलाई आफ्नो चलचित्रमा प्रयोग गर्नका लागि प्रख्यात सङ्गीतकार शान्ति ठटालसँग औपचारिक अनुमति लिएको छ ।
निर्माता सुशील पोखरेलले जानकारी दिएअनुसार, हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा बन्न लागेको यस चलचित्रका लागि सङ्गीतकार ठटालको भारतको सिलिगुडीस्थित निवासमै पुगेर सम्झौता गरिएको हो । चार दशकअघि बनेको मूल चलचित्र ‘परालको आगो’ मा समावेश यो गीत नयाँ संस्करणमा पनि राखिने भएको छ ।
शान्ति ठटालले सङ्गीत दिएको, मनबहादुर मुखियाले शब्द र स्व. अरुणा लामाले स्वर दिएको यो गीत नेपाली संगीतप्रेमीमाझ आज पनि उत्तिकै लोकप्रिय छ । निर्माता पोखरेलले यो गीत ‘परालको आगो’का लागि अपरिहार्य रहेकोले शान्ति ठटालसँग अनुमति लिन उनीकहाँ पुगेको बताए । दुई पक्षबीच कागजी सम्झौता समेत भइसकेको छ ।
सङ्गीतकार ठटालले आफ्नो गीत पुनः चलचित्रमा समावेश हुन लागेकोमा खुसी व्यक्त गर्दै भनिन्, “श्री ॐ सिने मेकर्स प्रा. लि. बाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’मा उल्लेखित शब्द र मैले कम्पोज गरेको सङ्गीत ‘उडी जाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ पुनः निर्माणाधीन चलचित्र ‘परालको आगो’मा प्रयोग गर्न मेरो पूर्ण मन्जुरी छ । साथै, चलचित्रको अपार सफलताको हार्दिक मङ्गलमय शुभकामना पनि दिन चाहन्छु ।”
कथाकार गुरुप्रसाद मैनालीको कालजयी कृतिमा आधारित यस चलचित्रमा जितु नेपाल, प्रकाश सपुत र सुहाना थापा जस्ता स्थापित कलाकारहरूले अभिनय गर्ने निश्चित भइसकेको छ । केही साताअघि मात्रै निर्माण टिमले उनीहरूसँग सम्झौता गरेको थियो । हरिओम सिने मेकर्सलाई मैनाली कथा पुरस्कार ट्रस्टले चलचित्र निर्माणको मन्जुरी दिएको हो । ‘परालको आगो’ मैनालीको चर्चित कथा सङ्ग्रह ‘नासो’ मा सङ्गृहीत छ । यसै नाममा करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि चलचित्र बनाएका थिए ।
निर्माता पोखरेलले यस पटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले चलचित्रमा प्रस्तुत गर्ने बताए ।