केन्द्रीय चलचित्र जाँच समितिले पायो पूर्णता, पत्रकार कुबेर गिरी र कलाकार भीमा मैनाली नियुक्त



काठमाडौं – लामो समयदेखि रिक्त रहेको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पूर्णता पाएको छ । कला पत्रकार कुबेर गिरी र कलाकार भीमा मैनालीलाई सदस्यमा नियुक्त गरेसँगै बोर्डले पूर्णता पाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट उनीहरूलाई नियुक्त गरिएको हो । यसअघि नै चलचित्रकर्मी सम्पन्न श्रेष्ठ बोर्ड सदस्यमा नियुक्त भइसकेका थिए ।

नवनियुक्त सदस्य कुबेर गिरी विगत दुई दशकदेखि कला पत्रकारितामा सक्रिय छन् । उनले विभिन्न साप्ताहिक, मासिक, समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनमा चलचित्र समाचारको रूपमा काम गरेका छन् । पछिल्लो समय उनी रातोपाटी डटकममा कार्यरत छन् । गिरी चलचित्र पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

त्यस्तै, अर्की नवनियुक्त सदस्य भीमा मैनालीको पनि चलचित्र क्षेत्रमा दुई दशक लामो अनुभव छ । उनले कलाकार, लेखक र निर्देशकका रूपमा काम गरेकी छन् । मैनालीले यसअघि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिएकी थिइन् ।

कसरी हुन्छ केन्द्रीय चलचित्र जाँच समितिको गठन?

नेपालमा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को नियम १६ बमोजिम केन्द्रीय चलचित्र जाँच समितिको गठन हुन्छ । यस नियमावली अनुसार, स्वदेशी तथा विदेशी चलचित्र जाँच गर्नको लागि केन्द्रीय स्तरमा देहाय बमोजिमका पदाधिकारी तथा सदस्य रहने गरी समिति गठन हुने व्यवस्था छ:

  • अध्यक्ष: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकेको सो मन्त्रालयको सहसचिव।
  • सदस्य: गृह मन्त्रालयको प्रतिनिधि।
  • सदस्य: संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधि।
  • सदस्य: चलचित्र सम्बन्धी विषयमा विशेष ज्ञान भएका व्यक्तिहरू मध्येबाट कम्तीमा एक जना महिला सहित मन्त्रालयले तोकेको तीन जना। (यिनै सदस्यहरूमध्ये हालै कुबेर गिरी र भीमा मैनाली नियुक्त भएका हुन्।)
  • सदस्य: चलचित्र विकास बोर्डको सदस्य वा अधिकृत कर्मचारी मध्येबाट बोर्डको सिफारिसमा मन्त्रालयले तोकेको एक जना।
  • सदस्य-सचिव: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकेको सो मन्त्रालयको उपसचिव।

यस समितिले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ तथा नियमावली, २०५७ को प्रावधान बमोजिम नेपालमा प्रदर्शन गरिने स्वदेशी तथा विदेशी चलचित्रको जाँच पास गरी प्रमाणपत्र जारी गर्ने मुख्य काम गर्दछ । समितिको सचिवालयको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको श्रव्य दृश्य तथा प्रसारण शाखाले काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu