
काठमाडौं – आगामी साउन २३ गते रिलिज हुन लागेको चलचित्र ‘मोहर’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रको पोस्टरले दर्शकमाझ विशेष कौतुहलता जगाएको छ ।
पोस्टरमा नायक पल शाह दुई फरक अवतारमा देखिएका छन् । एकातर्फ उनी लामो कपालसहित नायिका बेनिशा हमालसँग देखिएका छन् भने अर्कातर्फ छोटो कपालमा नायिका नीति शाहसँग अङ्गालोमा बाँधिएको देखिन्छ । यसले गर्दा दर्शकमाझ पल शाहको फिल्ममा दोहोरो भूमिका रहेको हुनसक्ने अनुमान र उत्सुकता बढेको छ ।
‘अलिखित नियमहरूमा आधारित कथा’ भनिएको ‘मोहर’ को टिजर जेठ २७ गते सार्वजनिक हुँदैछ । निर्माण पक्षले पोस्टरबाटै दर्शकको ध्यान खिच्न खोजेको प्रस्ट देखिन्छ र टिजरपछि चलचित्रबारे थप जानकारी मिल्ने बताएको छ ।
चुम्बन जङ्ग शाहीले निर्माण गरेको यस चलचित्रमा अर्जुन जङ्ग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल-कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ । दिपेन बस्न्यातको छायाङ्कन, कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको सङ्गीत तथा प्रमोद ढुङ्गाना र हर्क साउदको शब्द रहेको यो चलचित्र ‘फिल्म मेकर्स प्रा. लि.’ को ब्यानरमा निर्माण भएको हो । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मण राज पौडेल निर्माण नियन्त्रकको रूपमा रहेका छन् ।