
काठमाडौं – लेकाली इन्टरटेन्मेन्ट प्रा.लि. र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा बनेको यो चलचित्र आगामी फागुन १ गते बाट देशभरका सिनेमा घरहरूमा रिलिज हुने भएको छ । सार्वजनिक गरिएका दुई पोस्टरमा फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।
महेश दवाडीको लेखन तथा लक्ष्मण सुनारको कथा र निर्देशन रहेको यस चलचित्रले सामाजिक कथावस्तुलाई प्राथमिकता दिएको छ ।
सार्वजनिक गरिएका दुई पोस्टरमध्ये एउटामा नायक सौगात मल्ल रिसाहा अवतारमा देखिएका छन् । बाघसँगै उभिएका उनको हातमा भाला र भालामा रगत देखिन्छ । अर्को पोस्टरमा भने सौगात मल्लसँगै नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा, र सुलक्षण भारती लाई देख्न सकिन्छ ।
चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोग राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको मुख्य भूमिका रहेको छ । यसै गरी, उपेश ढकाल, मञ्जिला बानिया र समर्पण खतिवडा बालकालकारका रूपमा रहेका छन् ।