
काठमाडौं – साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मोहर’को टिजर आज सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको १ मिनेट १८ सेकेन्ड लामो टिजरले दर्शकमाझ कौतुहलता जगाएको छ ।
टिजरले ‘नलेखिएको नियम’ र ‘देउकी’ प्रथाको कथालाई प्रमुखताका साथ उठान गरेको देखिन्छ । यसमा अभिनेता पल शाहको दोहोरो अवतार विशेष आकर्षण बनेको छ । उनी एकातर्फ लामो कपालमा नायिका बेनिशा हमाल र बाल-कलाकार सारा शर्मासँग देखिन्छन् भने अर्कोतर्फ छोटो कपालमा नायिका नीति शाहसँगको उनको सम्बन्धलाई चित्रण गरिएको छ ।
फिल्म मेकर्स प्रा.लिको प्रस्तुति रहेको ‘मोहर’ का निर्माता चुम्बन जङ्ग शाही हुन् । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा पल शाह, अर्जुन जङ्ग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पवि, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नवीन खतिवडा र बाल-कलाकार सारा शर्मा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा कुमार महर्जनको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको सङ्गीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी रहेको छ । टिजर साहिल खानले तयार पारेका हुन् ।
टिजर:




