‘सिटामोल’को गीत ‘झुम्का कानैमा’: कर्णालीको हुड्के नाचमा सौगात र बेनिशा



काठमाडौं – आगामी साउन २३ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक भएको छ । कर्णाली प्रदेशको परम्परागत हुड्के नाचको भाकालाई देउडा र लोक फ्लेभरमा मिश्रण गरी तयार पारिएको यो गीत सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरियो । गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र बेनिशा हमालको नृत्य देख्न सकिन्छ ।

बाबुल गिरीको सङ्गीत र स्वरमा रहेको यस गीतमा गायिका शान्तिश्री परियारले बाबुललाई गायनमा साथ दिएकी छन् । गीतका शब्द गोविन्द भट्टले रचना गरेका हुन् भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

राज बहादुर सानेको निर्देशनमा बनेको ‘सिटामोल’को गीत रिलिज कार्यक्रममा प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रूपमा सहभागी थिए । उनले गीतको प्रशंसा गर्दै चलचित्रले पनि सोही स्तरको सफलताको शुभकामना व्यक्त गरे ।

चलचित्रमा सौगात मल्ल र बेनिशा हमालका साथै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल तथा बाल कलाकार करण परियार र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ । श्रीकृष्ण निरौला र जानुका विश्वकर्माले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् ।

तुलसी देवी फिल्म प्रा.लि.ले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यस चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको ‘सिटामोल’मा भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता रहेका छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गङ्गाराम श्रेष्ठ सह-निर्माताको रूपमा छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu