
काठमाडौं – अभिनेता भुवन केसीले निर्देशक गर्न लागेको नेपाली चलचित्र ‘बाटुलो जुन’मा मोडल तथा चर्चित टिकटकर प्रिन्सी खतिवडाको प्रवेश भएको छ । केही दिनमै छायाङ्कनमा जाने तयारीमा रहेको यस फिल्मका लागि निर्माण पक्षले प्रिन्सीसँग औपचारिक सम्झौता गरिसकेको छ ।
हाल प्रिन्सी ‘बाटुलो जुन’का लागि वर्कसपमा व्यस्त भइसकेकी छिन् । यद्यपि, निर्माण पक्षले चलचित्रका मुख्य अभिनेता अनमोल केसी सँग उनको संयुक्त तस्बिर भने सार्वजनिक गरिसकेको छैन । दर्शकहरूमा अनमोल र प्रिन्सीको पर्दामा कस्तो केमेस्ट्री देखिनेछ भन्ने कौतूहल बढेको छ । अडिसनमा सहभागी एक दर्जनभन्दा बढी युवतीमध्येबाट प्रिन्सीलाई ‘बाटुलो जुन’को लागि छनोट गरिएको बताइएको छ । उनको यो पहिलो नेपाली फिचर चलचित्र हो र यसमा उनको प्रमुख भूमिका रहनेछ ।
टिकटकमा अत्यधिक लोकप्रिय रहेकी प्रिन्सीले नेपाली साङ्गीतिक भिडियोमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । उनले ६० भन्दा बढी नेपाली र आधा दर्जनभन्दा बढी हिन्दी म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।
चलचित्रकी निर्मात्री जिया केसी हुन् । ‘बाटुलो जुन’ को छायाङ्कन असार र भदौ महिनामा दुई चरणमा हुने जनाइएको छ । पहिलो चरणको छायाङ्कन चित्लाङबाट सुरु हुनेछ । त्यसपछि छोटो विश्राम लिएर भदौमा दोस्रो चरणको छायाङ्कन गरिने निर्देशक भुवन केसीले बताएका छन् । अनमोल यस पटक फिल्ममा गाउँले युवकको भूमिकामा देखिनेछन् ।