अमेरिकामा ‘यो मन त मेरो नेपाली हो’ को विशेष प्रदर्शन, दर्शकद्वारा प्रशंसा



काठमाडौं – यही असार २७ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ले अमेरिकाका विभिन्न सहरमा विशेष प्रदर्शनमार्फत दर्शकहरूको मन जित्न सफल भएको छ । कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्गमा आयोजित यी विशेष प्रदर्शनहरूमा सहभागी दर्शकहरूले चलचित्रको खुलेरै प्रशंसा गरेका छन् ।

सोमबार राति पिट्सबर्गमा गरिएको विशेष प्रदर्शनमा चलचित्र हेरेका दर्शकहरूले यसको विषयवस्तु र प्रस्तुतिलाई निकै मन पराएका छन् । विशेष गरी, विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले आफ्नो कला, संस्कार र संस्कृति बिर्सँदै गएको वर्तमान परिप्रेक्ष्यमा चलचित्रले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई सशक्त रूपमा चित्रण गरेको भन्दै दर्शकहरूले यसलाई हरेक नेपाल भाषीले हेर्नै पर्ने चलचित्रको संज्ञा दिएका छन् ।

पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुत कर्ता रहेको यस चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशनमा बनेको यो चलचित्र शिवम् अधिकारीले लेखेका हुन् ।

चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन “मन्त्री”, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवका साथै ‘नेपाली को हुन्’ भन्ने गहन विषयवस्तुलाई उठान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu