सुदर्शन थापा र प्रदीप खड्का:  ‘शुभ विवाह’ मार्फत १० वर्षपछि पुनर्मिलन



काठमाडौं – चर्चित चलचित्र निर्माता तथा निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्का आगामी प्रोजेक्ट ‘शुभ विवाह’मा पुनः सहकार्य गर्ने भएका छन् । करिब १० वर्षअघि चलचित्र ‘प्रेम गीत’ मार्फत बक्स अफिसमा तहल्का मच्चाएको यो सफल जोडी दोस्रो पटक एकसाथ काम गर्न लागेको हो । यस चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ, जसमा मुख्य कलाकारका रूपमा प्रदीप खड्काको नाम उल्लेख छ ।

निर्देशक थापाले गत वर्ष नै प्रदीप खड्कासँग लिखित सम्झौता गरिसकेका थिए, तर चलचित्रको शीर्षक भने गोप्य राखिएको थियो । थापाले ‘प्रेम गीत’को सफलतालाई स्मरण गर्दै भने, “त्यो समयमा ‘प्रेम गीत’ले थुप्रै कलाकार र प्राविधिकलाई करियरमा उचाइमा पुर्‍यायो, जसमध्ये अहिलेका स्टार नायक प्रदीप खड्का पनि एक हुन् ।” ‘प्रेमगीत’लाई नेपाली चलचित्रको प्रेमिल धारमा एउटा उदाहरणीय चलचित्र मानिन्छ, जसले सबै वर्गका दर्शकको मन जित्न सफल भएको थियो । अब यो जोडीलाई ‘प्रेम गीत’ भन्दा पनि सफल चलचित्र बनाएर दर्शकको मन जित्नुपर्ने चुनौती रहेको छ।

प्रेम कथाहरूमाथि उत्कृष्ट चलचित्र बनाउनमा निर्देशक थापाको खुबी र लभर ब्वाईको भूमिकामा प्रदीप खड्काको लोकप्रियता जगजाहेर छ । ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक चलचित्र हुनेछ । हालसम्म नायिकाको टुङ्गो लागिसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu