काठमाडौं – जापानमा पुगेर चलचित्र ‘जहाजैमा’ निर्देशनको सम्झौता गरेकी निर्देशक कृषा चौलागाईँ यति बेला प्रि-प्रोडक्सनको काममा व्यस्त छिन् । हालै उनले यस चलचित्रको लागि जापानी नायिका रजेल इचिमियालाई अनुबन्धित गरेकी छन् । यो कदमसँगै नेपाली सिनेवृत्तमा यसको चर्चा चुलिएको छ ।
यस चलचित्रले नेपाल र जापानबिचको सांस्कृतिक तथा भावनात्मक सम्बन्धलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ । हालै सार्वजनिक गरिएको रजेल फिचर्ड पोस्टरले पनि यो कुराको पुष्टि गर्छ । हिउँले ढाकिएको रमणीय दृश्यमा पारदर्शी छातामुनि उभिएकी रजेल इचिमियाको सुन्दरताले पोस्टरलाई आकर्षक बनाएको छ ।

निर्देशक चौलागाईँले जापानी नायिकालाई नेपाली कथामा ढालिनु चुनौतीपूर्ण तर रोचक हुने बताएकी छिन् । यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाईँले निर्माण गरिरहेको यो चलचित्रले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र सङ्घर्षको कथा प्रस्तुत गर्ने निर्माता गुरागाईँको भनाई छ ।
जापानमा सक्रिय नायिका तथा मोडलको रूपमा स्थापित रजेल इचिमियालाई नेपाली फिल्ममा भित्र्याउनु आफैँमा एउटा नौलो प्रयोग हो । चलचित्रका अन्य कलाकारहरूको बारेमा भने खुलासा गरिएको छैन ।




