
काठमाडौं – वि.सं. २०७९ सालको सफल चलचित्र ‘झिँगेदाउ’को सिक्वेल निर्माणको तयारी तीव्र गतिमा अघि बढेको छ । निर्देशक ज्ञानेन्द्र देउजा ‘झिँगेदाउ २’ लाई दर्शकमाझ ल्याउने गृहकार्यमा जुटिरहेका छन् । हाल चलचित्रका लागि कलाकार छनोट प्रक्रिया चलिरहेको छ ।
पहिलो चरणमा नै ‘झिँगेदाउ’का प्रमुख अभिनेत्रीहरू केकी अधिकारी र आँचल शर्मा अनुबन्ध भएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । चलचित्रका निर्माता समेत रहेका देउजाले यसै साता दुवै अभिनेत्रीसँग लिखित सम्झौता गरेका हुन् । यसका साथै, मुकुन भुसाल र कुशल विष्ट लगायतका कलाकारहरू पनि दोहोरिने निश्चित भएको जनाइएको छ ।
निर्देशक देउजा अहिलेका चल्तीका दुई नयाँ कलाकारलाई पनि ‘झिँगेदाउ २’ मा भित्र्याउने तयारीमा छन् । यसका लागि केही कलाकारहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।
‘झिँगेदाउ’को कथा दुई छोराबीचको कलहका कारण आमा पशुपतिनाथको वृद्धाश्रममा गएर बसेपछि टुङ्गिएको थियो । निर्देशक देउजाका अनुसार सिक्वेलको कथावस्तु त्यहीँबाट सुरु हुनेछ, जसको कथा देउजाले नै लेखेका छन् । पटकथा तथा संवाद लेखनको विषयमा भने उनी हालको लागि मौन बस्न चाहेका छन् । यो चलचित्र पनि ग्रामीण परिवेशमा नै निर्माण गरिने उनले बताए ।






