
काठमाडौं – श्रावण २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा शरद हुमागाईँ र विशाखा शाही को स्वरमा रहेको यो रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।
गीतमा प्रमोद ढुङ्गानाको शब्द र सुरेश अधिकारीको सङ्गीत रहेको छ। भिडियोमा नायक पल शाह र नायिका नीति शाह लाई फिचर गरिएको छ, जसमा उनीहरूको प्रेम भाव स्पष्ट झल्किएको देख्न सकिन्छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।
चलचित्र फिल्म मेकर्स प्रा. लि.को ब्यानरमा निर्माण भएको हो, जसका निर्माता चुम्बन जङ्ग शाही हुन् । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा पल शाह, अर्जुन जङ्ग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पवि, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नवीन खतिवडा र बाल–कलाकार सारा शर्मा को मुख्य भूमिका रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक पल शाहले गीतको भिडियो छायाङ्कनका क्रममा निकै चुनौतीहरूको सामना गर्नुपरेको भए तापनि अन्तिम नतिजाबाट आफू निकै खुसी भएको बताए । उनले आफूले पहिलो पटक कुनै गीतको भिडियोमा काम गर्दा ‘म सक्दिनँ है’ भनेर भनेको कुरा पनि स्मरण गरे । नायिका नीति शाहले पनि गीतको छायाङ्कनमा सबैको अथक मिहिनेत परेको उल्लेख गर्दै दर्शकले यसलाई मन पराउनेमा आफू विश्वस्त रहेको बताइन् ।
चलचित्रका निर्देशक ओम प्रतिकले ‘मोहर’ले देउकी प्रथाका साथै अन्य धेरै सस्पेन्स विषयवस्तुहरूलाई समेटेको जानकारी दिए । उनले दर्शकले केही फरक र मौलिक कथाको चलचित्र हेर्न पाउने विश्वास व्यक्त गरे । निर्माता चुम्बन जङ्ग शाहीले आफू सानैदेखि फिल्मी माहौलमा हुर्किएको र सोही मोहले गर्दा चलचित्र निर्माणमा होमिएको बताए ।
गीत:





