
सुर्खेत – नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई सशक्त रूपमा प्रस्तुत गरेको चलचित्र ‘सतीदेवी’ को विशेष प्रदर्शन तथा ‘कर्णाली उत्कृष्ट नारी सम्मान समारोह २०८२’ सुर्खेतको वीरेन्द्रनगरमा शनिवार भव्यताका साथ सम्पन्न भएको छ । लक्ष्मी चलचित्र मन्दिरमा आयोजित यस कार्यक्रममा मुख्यमन्त्रीसहित कर्णाली प्रदेशका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
चलचित्रको विशेष प्रदर्शनमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल र प्रदेशका ऊर्जा मन्त्री विजया बुढा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । चार सयभन्दा बढी दर्शकले खचाखच भरिएको हलमा चलेको यो विशेष शोले उपस्थित सबैलाई भावुक बनायो । कतिपय दर्शक त खुलेआम आँसु झार्दै चलचित्रमा लीन भएका थिए ।
‘सतीदेवी’ : समाजको ऐना र महिलाको सङ्घर्ष
वीरेन्द्रनगरकी नगर प्रमुख मोहनमाया ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभूति व्यक्त गर्दै भनिन्, “सतीदेवी हेरेपछि मन गह्रौँ भयो । महिलाको सङ्घर्ष, समाजले गर्ने विभेद, किशोरीहरूको भावना सबै दृश्यहरू हाम्रै जीवनको ऐना बनेर प्रस्तुत भए । चलचित्र सकिएपछि उठ्नै सकिनँ, एक छिन मौन भएर बस्न मन लाग्यो ।” उनले ऊर्जा मन्त्री विजया बुढासँगै चलचित्र हेरेकी थिइन् । ढकालले निर्देशक लक्ष्मण सुवेदीलाई चलचित्रको सिक्वेलमा सफल महिलाको कथा देखिनुपर्ने सुझाव समेत दिएकी थिइन्, जसमा निर्देशकले सकारात्मक प्रतिक्रिया दिए ।
‘सतीदेवी’ मा मलिका महतको शीर्ष भूमिका रहेको छ भने सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, बाल कलाकार हर्षिका वली र मञ्जिला बानियाँको अभिनय रहेको छ । श्रीदेवी, दिलासा र सारा सुवेदीद्वारा निर्मित यस चलचित्रले हालसम्म थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ ।
निर्देशकको कर्णाली प्रेम र आगामी योजना
चलचित्र प्रदर्शनपछि निर्देशक लक्ष्मण सुवेदीले आफ्नो गृह प्रदेशमा दर्शकहरूसँग बसेर फिल्म हेर्दाको आत्मीयतालाई ‘अपूर्व’ भन्दै वर्णन गरे । उनले आगामी प्रोजेक्ट पनि कर्णाली प्रदेशमै छायाङ्कन गर्ने इच्छा व्यक्त गरे, जसले कर्णाली क्षेत्रका कलाकार र स्थानीय प्रतिभालाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
कर्णाली उत्कृष्ट नारी सम्मान २०८२
कार्यक्रमको अर्को महत्त्वपूर्ण पाटो ‘कर्णाली उत्कृष्ट नारी सम्मान २०८२’ थियो । प्लेयिङ फर चेन्जद्वारा आयोजित यस समारोहमा समाजमा महिलाको पहिचान, प्रेरणा र योगदानलाई उच्च सम्मान गरियो । प्लेयिङ फर चेन्जका अध्यक्ष प्रकाश खड्काले विभिन्न क्षेत्रबाट समाजमा सशक्त योगदान पुर्याउने महिलाहरूलाई सम्मान प्रदान गरिएको जानकारी दिए ।
सम्मानित हुने व्यक्तित्वहरूमा जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा, नगर प्रमुख मोहनमाया ढकाल, पत्रकार माया थापा, खेलाडी सुनमाया बुढा, पाइलट सिर्जना रावत, समाजसेवी यमुना सापकोटा, राउटे समुदायकी अगुवा सत्यदेवी खड्का, महिला सहकारी अभियन्ता सुनिता खड्का र पत्रकार तृप्ति शाही लगायत रहेका छन् ।