काठमाडौं – ‘जात्रा’ शृङ्खलाबाट नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाएको षट्कोण आर्ट्सले आफ्नो नयाँ प्रस्तुति ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा अनुबन्ध गरेको छ । दर्शक र प्रदर्शकको विश्वास जितिसकेको यो ब्यानरले आज अभिनेत्री खड्काको आकर्षक फिचर्ड पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी फागुन १ गते प्रदर्शनमा आउने घोषणा गरेको छ ।
सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री खड्का एक फरक र गहन भूमिकामा देखिएकी छन् । पोस्टरमा उनी गर्भवती अवस्थामा देखिए पनि उनको शृङ्गार र हाउभाउले उनको शारीरिक अवस्था र भित्री चाहनाबीचको विरोधाभासलाई स्पष्ट रूपमा चित्रण गरेको छ, जसले फिल्मको कथावस्तु थप रहस्यमय हुने सङ्केत गर्छ । सार्वजनिक पोस्टरको फोटोग्राफी केशव पाण्डेले गरेका हुन् भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पोस्टर तयार पारेका हुन् ।

यम थापाको लेखन तथा निर्देशनमा तयार हुने यस चलचित्रलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माण गर्दैछन् भने यसअघि ‘जात्रा’ चलचित्र शृङ्खला तथा ‘महापुरुष’ चलचित्र निर्देशन गरेका प्रदीप भट्टराई कार्यकारी निर्माताको भूमिकामा छन् ।
अभिनेत्री खड्काले चलचित्रको कथावस्तु र निर्माण टिमको विश्वासका कारण आफू यस नयाँ र फरक भूमिकामा प्रस्तुत हुन तयार रहेको बताइन् । उनले भनिन्, “मेरा अघिल्ला चलचित्रभन्दा यसमा दर्शकले एक भिन्न स्वस्तिमा देख्नुहुनेछ । सार्वजनिक पोस्टरले नै धेरै कुरा बोलिरहेको छ र म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।”
निर्माता बानियाँका अनुसार षट्कोण आर्ट्सले सधैँ उत्कृष्ट स्क्रिप्टको खोजीमा रहन्छ र यसै क्रममा निर्देशक थापासँग सहकार्यको सुरुवात भएको हो । निर्देशक थापा पनि ‘लालीबजार’ ले आफ्नो करियरलाई नयाँ उचाइ दिनेमा विश्वस्त छन् । निर्देशनमा केही समयको विश्रामपछि फर्किएका थापाले यस पटकको कार्यशैलीले आफ्नो काममा थप परिपक्वता आएको बताए । निर्देशक थापाले चलचित्रका अन्य कलाकार र विस्तृत विषयवस्तुबारे क्रमशः जानकारी दिँदै जाने बताए ।
आगामी दसैँ लगत्तै छायाङ्कन गरिने ‘लालीबजार’ षट्कोण आर्ट्सले एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ चलचित्र हो। यसअघि षट्कोण आर्ट्सले ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका चलचित्रमा अन्य ब्यानरसँग पनि सहकार्य गरिसकेको छ ।