कर्म र भाग्यको कथामा चलचित्र ‘तथास्तु’ बन्ने



काठमाडौं –  यसअघि चलचित्र ‘डोरी’ निर्देशन गरेका अरुण लामाले आफ्नो दोस्रो चलचित्र ‘तथास्तु’ निर्माण गर्ने घोषणा गरेका छन् । हालै एक पोस्टर सार्वजनिक गर्दै लामाले नयाँ चलचित्रको निर्माण कार्यबारे जानकारी गराएका हुन् ।

सार्वजनिक पोस्टरअनुसार, ‘तथास्तु’ को छायाङ्कन विक्रम संवत् २०८३ को प्रारम्भमा सुरु हुनेछ भने यसको प्रदर्शन सन् २०२७ मा गरिनेछ । जी. सेभेन प्रोडक्सन्सको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रलाई निर्देशक लामाले केवल एउटा चलचित्र मात्र नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको एक गहन कथाका रूपमा व्याख्या गरेका छन् ।

लामाका अनुसार, ‘तथास्तु’ ले आध्यात्मिक यात्रा, व्यक्तिगत द्वन्द्व र सामाजिक यथार्थबीचको टकराबलाई पर्दामा उतार्नेछ । यसका साथै, ‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा आधारित रहेर भगवानको लोक र मानिसहरूको लोक अर्थात् दुई भिन्न लोकबीचको सम्बन्ध र कथावस्तुलाई यसले समेट्नेछ ।

चलचित्रको शीर्षक ‘तथास्तु’ राख्नुको अर्थ पनि निर्देशक लामाले स्पष्ट पारेका छन् । उनी भन्छन्, “यो शब्दको अर्थ हो, ‘तपाईँले चाहेजस्तै होस् ।’ तर के हामीले चाहेका सबै कुरा साँच्चै नै सही हुन्छन् त ? के हामी त्यसका लागि तयार छौँ त ? जीवनमा प्राप्तिभन्दा बुझाइ महत्त्वपूर्ण हुन्छ । तपाईँले मागेको कुरा तब मात्र सार्थक हुन्छ, जब तपाईँ त्यसलाई ग्रहण गर्न तयार हुनुहुन्छ ।”

‘तथास्तु’मा नयाँ पुस्ताका चर्चित कलाकारहरू, नेपाल र भारतका अप्रत्याशित तर सशक्त अनुहारहरूका साथै स्थापित कलाकार र उदाउँदा प्रतिभाहरूलाई पनि अवसर दिइने लामाले बताएका छन् । नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने यो फिल्मको छायाङ्कन नेपाल र भारतका विभिन्न स्थानमा दुई चरणमा गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu