
काठमाडौं – अनन्या फिल्मस्ले आफ्नो नयाँ चलचित्र ‘घोस्टेल’को घोषणा गरेको छ । निर्माण कम्पनीले बुधवार फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै हरर कमेडी जनरामा यो फिल्म बन्ने जानकारी दिएको हो ।
सार्वजनिक गरिएको पोस्टरमा “when horror meets hahas..” वाक्यांशले ‘घोस्टेल’ हरर र कमेडीको मिश्रण हुने सङ्केत गर्छ । सन् २०२६ मा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यस फिल्मको कलाकार र प्राविधिक टोली बारे भने हाल कुनै जानकारी खुलाइएको छैन । निर्माता सरोज न्यौपानेका अनुसार, मुख्य कलाकारहरूको घोषणासँगै चलचित्रका थप विवरणहरू पनि क्रमशः सार्वजनिक गरिनेछन् ।
न्यौपानेलाई यस चलचित्र निर्माणमा सुयोग गुरुङले साथ दिएका छन्, जो चलचित्रका कथाकार पनि हुन् । ‘जेरी अन टप’का निर्माता न्यौपाने र निर्देशक गुरुङले उक्त चलचित्र छायाङ्कन सम्पन्न गरे लगत्तै ‘घोस्टेल’ निर्माणमा जुटेका हुन् ।
‘घोस्टेल’को निर्देशनको जिम्मा सुरज सुनुवारले लिएका छन् । ‘षडङ्ग’बाट निर्देशनमा उदाएका सुनुवारको पछिल्लो फिल्म ‘खजुरे ब्रो’ गत वर्ष प्रदर्शनमा आएको थियो ।






