
काठमाडौं – सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको नयाँ नेपाली चलचित्र ‘पिआर’ को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा टिजर रिलिज गरिएको हो । टिजरमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको सङ्घर्ष, उनीहरूले भोग्ने पीडा र नेपालमा रहेका उनीहरूका परिवारको भावनात्मक अवस्थालाई यथार्थपरक ढङ्गले चित्रण गरिएको छ ।
शोभित बस्नेतको निर्देशन तथा कथा रहेको यस चलचित्रमा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनीता कार्की, पूजा चौधरी, विमला खत्री, अस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय रहेको छ । यस्तै, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी देखिनेछन् । रञ्जित शाह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको यस चलचित्रका निर्माताहरूमा प्रदीप दाहाल र लक्ष्मण सापकोटा रहेका छन् ।
निर्देशक बस्नेतका अनुसार, चलचित्रको छायाङ्कन अस्ट्रेलियाका विभिन्न सहरमा ६० प्रतिशत र नेपालमा ४० प्रतिशत गरिएको छ । निर्माण पक्षका अनुसार, ‘पिआर’ यसै महिनाको अन्त्यदेखि अस्ट्रेलिया र न्युजिल्यान्डका सम्पूर्ण सहरहरूमा प्रदर्शन गरिनेछ । नेपालमा आरआर फिल्मसले वितरण गर्ने यस चलचित्रलाई दसैँको आसपासमा विश्वव्यापी रूपमा फिल्म रिलिज गर्ने योजना रहेको बताइएको छ ।





