
काठमाडौं – नेपाली भाषा, साहित्य, कला र यसको गौरवशाली इतिहासको महत्त्वलाई उजागर गर्ने उद्देश्यले निर्मित चलचित्र ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर शुक्रवार राजधानीमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ । आगामी असार २७ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रले नयाँ पुस्तालाई नेपालीपनसँग जोड्ने अपेक्षा गरिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक मित्र प्रधानले चलचित्रको मुख्य विषयवस्तुबारे प्रकाश पारे । उनले भने, “यो चलचित्रले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने तथा यसको संरक्षणका लागि गरिने सङ्घर्षको कथा प्रस्तुत गर्दछ ।”
निर्माता तथा कलाकार रोशन श्रेष्ठले ‘यो मन त मेरो नेपाली हो’ हरेक नेपालीले हेर्नै पर्ने चलचित्र भएकोमा जोड दिए । अभिनेता विजय बरालले यसलाई एक फरक धारको चलचित्रको संज्ञा दिँदै यसले नेपाली भाषा, साहित्य र कलालाई एकापसमा जोड्ने कार्य गरेको बताए ।
चलचित्रका गीतकार तथा कलाकार विल्सन विक्रम राईले आफूले यस फिल्मको कथासँग मिल्ने गीत लेखेको र कथालाई नजिकबाट नियालेकाले चलचित्र उत्कृष्ट बनेको धारणा व्यक्त गरे । यस्तै, नायिका आयुषा समालले विदेशमा रहेर पनि आफू नेपाली भाषा सिक्न र यसको जगेर्ना गर्न सक्रिय रहेको बताइन् ।
पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुत कर्ता रहेको यस चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् । अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर)ले निर्देशन गरेको यो चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन “मन्त्री”, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सौरभ लामाको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन तथा सिजिआई सत्यम रानाको रहेको छ । दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सङ्गीत रहेको यस चलचित्रमा दीपक शर्मा, विल्सन विक्रम राई, शङ्कर अधिकारी घायलको शब्द र खैँजडी गीतमा अनीश अधिकारीको शब्द सङ्कलन रहेको छ ।
ट्रेलर:





