चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक, केदार घिमिरेको प्रमुख भूमिका



काठमाडौं – दशकौँदेखि नेपाली दर्शकलाई ‘हल्का रमाइलो’ का माध्यमबाट हँसाउँदै आएका लोकप्रिय हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अब ‘पूर्ण मनोरञ्जन’ को वाचासहित ठुलो पर्दामा आउने भएका छन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’ को सोमबार सार्वजनिक टिजरले यही सङ्केत गरेको छ ।

पौने दुई मिनेट लामो यो टिजर केदार घिमिरेलाई केन्द्रमा राखेर तयार पारिएको छ र यसमा रमाइला तथा चोटिला संवादहरू समावेश छन् । टिजरमा केदार घिमिरे विभिन्न नयाँ स्वरूपमा प्रस्तुत भएका छन् । 

टेलिभिजनमा ‘माग्ने बुढा’ र ‘तक्मे बुढा’ को जोडीका रूपमा चर्चित केदार घिमिरे र विल्सन विक्रम राई (तक्मे बुढा) लाई यस चलचित्रमा पनि देख्न सकिन्छ । टिजरमा विल्सन विक्रम राई केदार घिमिरेको भान्जाको भूमिकामा देखिएका छन् । यद्यपि, टिजरमा अभिनेत्री वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि समावेश भए तापनि उनीहरूको भूमिकाबारे भने धेरै खुलासा गरिएको छैन ।

‘माग्ने राजा’ ले प्रदर्शनअघि नै केदार घिमिरेलाई पोस्टरमार्फत भिन्न स्वरूपमा प्रस्तुत गरेर चर्चा बटुलेको थियो । यो चलचित्र केदार घिमिरेको पहिलो मुख्य भूमिकाको चलचित्र हो, जसले उनको करियरमा एउटा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरे प्रस्तुत कर्ता तथा मधुसूदन शर्मा निर्माता रहेको यस चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पार्श्व सङ्गीत र मित्र गुरुङको सम्पादन रहेको छ । यस चलचित्रको टिजर साहिल खानले तयार पारेका हुन् ।

‘माग्ने राजा’ आगामी भदौ ६ गते नेपालसहित विदेशमा पनि प्रदर्शन हुने तयारीमा छ । आरआर फिल्म्सले यस चलचित्रको वितरण गर्नेछ ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu