‘यो मन त मेरो नेपाली हो’ चलचित्र विद्यालय स्तरका बालबालिकालाई देखाउनु उपयुक्त: पाठ्यक्रम विकास केन्द्र



काठमाडौं – नेपाली भाषा र संस्कृतिको प्रवर्धनका लागि निर्माण गरिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले शुभकामना सन्देश पठाएको छ । यसले चलचित्र प्रदर्शनमा आउनुअघि नै ठुलो हौसला मिलेको निर्माण पक्षले जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्र, सानो ठिमी, भक्तपुरको समकक्षता तथा मूल्याङ्कन शाखाले चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्था श्री पद्मा ईश्वर इन्टरटेनमेन्ट, बागबजारलाई ‘शुभकामना सम्बन्धमा’ विषयको पत्र पठाउँदै सफलताको कामना गरेको हो ।

पत्रमा उल्लेख छ, “पद्मा ईश्वर इन्टरटेनमेन्ट प्रालिद्वारा निर्मित नेपाली चलचित्र विशुद्ध नेपाली भाषा र संस्कृतिमा आधारित छ । यस्ता प्रकृतिका, समाजमा सकारात्मक प्रभाव पार्ने चलचित्रहरूलाई राज्यका निकाय लगायत सरोकारवाला सामाजिक सङ्घ–संस्थाहरूले संरक्षण र संवर्द्धन गर्नु आवश्यक देखिन्छ । भविष्यका कर्णधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकाले विशेषतः विद्यालय स्तरका बालबालिकाहरूलाई यो चलचित्र ‘यो मन त मेरो नेपाली हो’ सरोकारवाला निकायको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ । देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण चलचित्र निर्माण गर्नुभएकोमा निर्माण टोलीलाई विशेष धन्यवाद ज्ञापन गर्दछौँ ।”

यही असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन “मन्त्री”, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

पद्मा ईश्वर इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुत कर्ता रहेको यो चलचित्रलाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu