चलचित्र ‘चित्रा’ अमेजन प्राइममा: ४३ भाषामा सबटाइटल सहित २ सय देशमा उपलब्ध



काठमाडौं – घनश्याम लामिछाने निर्देशित नेपाली चलचित्र ‘चित्रा’ ले नयाँ इतिहास रचेको छ । यो चलचित्र विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियोमा उपलब्ध भएसँगै, ग्लोबल प्लेटफर्ममा रिलिज हुने पहिलो नेपाली फिल्म बनेको छ । पुस २७, २०८० मा नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो सिनेमा अब २ सय भन्दा बढी देशका प्राइम भिडियो सदस्यहरूले जुनसुकै स्थानबाट हेर्न सक्नेछन् ।

चलचित्रको यो विश्वव्यापी पहुँचलाई अझ फराकिलो बनाउन ‘रिलिज वर्ड’ ले यसको हिन्दी डब संस्करणलाई अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । यसका साथै, ४३ भाषामा सबटाइटल सहित रिलिज गरिएको ‘चित्रा’ ले बहुभाषी दर्शकमाझ नेपाली कथालाई पुर्‍याउने अभूतपूर्व अवसर सिर्जना गरेको छ । यसअघि केही नेपाली चलचित्रहरू अमेजन प्राइमको युके वा युएसए संस्करणमा मात्र सीमित थिए भने ‘चित्रा’ ले भने साँच्चिकै ग्लोबल रिलिज हासिल गरेको छ ।

निर्देशक लामिछानेले यो प्रयास नेपाली चलचित्रको कोसेढुंगा साबित हुनसक्ने बताए । उनी भन्छन्, “चित्राको यो सफलता नेपाली चलचित्र उद्योगका लागि एउटा उदाहरणीय कोसेढुंगा बन्न सक्छ । विश्व बजारमा नेपाली कथालाई पुर्‍याउने र ‘नेपालमा पनि यस्तो स्तरको सिनेमा बन्न सक्छ’ भन्ने सन्देश दिनमा फिल्म सफल भएको देखिन्छ। हाम्रो कथा अब संसारका दर्शकले बुझ्ने भाषा र माध्यममा पुगेको छ । यो त एउटा सुरुवात मात्र हो ।”

सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्मित ‘चित्रा’ लाई अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्याप इन्टरटेनमेन्ट अस्ट्रेलियाले सह निर्माण गरेका हुन् । चलचित्रका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्माता र राज श्रेष्ठ एसोसिएट निर्माताका रूपमा रहेका छन् ।

यस चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथामा आधारित यो चलचित्रले एक रिटायर्ड बाबु र छोरीबीचको भावनात्मक सम्बन्ध, उतारचढाव र पारिवारिक प्रेम को मार्मिक कथा प्रस्तुत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu