प्रदीप शाहीको निर्देशनमा बनेको साइन्स फिक्सन चलचित्र ‘एक्लो’लाई आगामी पुष महिनामा प्रदर्शन गरिने भएको छ । आइतबार सार्वजनिक फर्स्टलुक भिडियोमा डिसेम्बर अर्थात् पुषमा चलचित्र रिलिज हुने उल्लेख छ । तर, प्रदर्शन मिति भने तोकिएको छैन । प्राप्त जानकारी अनुसार पुष १० गते परेको क्रिसमस डेको विदामा चलचित्र प्रदर्शन हुने सम्भावना प्रवल छ ।

सार्वजनिक भिडियोमा चलचित्रका कलाकारहरु प्रदीप खड्का, बेनिशा हमाल, दीया मास्के, विजय लामा, सुनील थापा, सुरजसिंह ठकुरी, कविता नेपाली, एवन राज उप्रेती र बेलायती अभिनेता जेमी बेकन क्यारेक्टर लुक्समा प्रस्तुत छन् । प्रदीप योद्धाको रुपमा देखिएका छन् । उनको पृष्ठभूमिमा दौडिरहेको सेतो घोडा र बलिरहेको आगो देख्न सकिन्छ । यसले उनको पात्र शक्तिशाली रहेको संकेत गर्छ ।
बेलायतमा पोस्ट प्रोडक्सनको काम भइरहेको ‘एक्लो’मा दिनेश डीसी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकारहरु जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतको पनि अभिनय रहेको छ । गत मेमा भएको विश्वविख्यात कान्स फेस्टिभलमा स्टल नै राखेर चलचित्रको प्रचार गरिएको थियो ।
यो चलचित्रका निर्माताहरु राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ हुन् । कार्यकारी निर्मातामा विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा रुपेश गुरुङको सम्पादन तथा राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।