हिमाल न्यौपानेले निर्देशनमा तयार भएको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आइतबार निर्माण टिमले काठमाडौंसहित झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट एकसाथ दुईवटा पोस्टर सार्वजनिक गरेको हो । केही फरक तरिकाले दर्शकको ध्यान खिच्न यो उपाय अपनाइएको निर्माण पक्षले जनाएको छ ।

दुईमध्ये एउटा पोस्टरमा विजय बराल, केकी अधिकारी र मिरुना मगर प्रस्तुत छन् । केकी र मिरुनाले समाएको डोरीलाई बीचमा वियले समाएका छन् । मिरुनालाई मगर जातिको बेहुली पहिरनमा देख्न सकिन्छ । यो पोस्टरले सम्बन्धको परिबन्धलाई दर्शाउँछ । पोस्टरमा प्रयोग गरिएको निलो र रातो रंग निकै अर्थपूर्ण छ । त्यसले पात्रहरुको मनोविज्ञान चित्रित गर्छ ।
अर्को पोस्टरमा केकी मात्र चित्रित छिन् । साडी लगाएकी उनी निराश भावमा कठपुतली जसरी दुवै हात डोरीले बाँधिएको अवस्थामा देखिएकी छन् । यसले चलचित्रमा उनको पात्र कसैको नियन्त्रणमा वा दोधारमा रहेको बुझाउँछ । पोस्टरमा लेखिएको छ, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी ।’ यसबाट प्रष्ट हुन्छ, चलचित्रमा उनी दिदीको भूमिकामा छिन् ।
हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा विजय, केकी र मिरुनासहित गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत छन् ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माताहरु कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमल्सेना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको चलचित्रमा भानुभक्त ढकालको लेखन छ ।