अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘सुख-दु:ख’लाई भारतीय छायाँकार कबीरलाल र उनका छोरा शाहीद लालले खिच्ने भएका छन् । यी बाबु-छोरासँग आइतबार चलचित्रकी निर्मात्री समेत रहेकी नीताले कागजी सम्झौता गरेकी हुन् । यसअघि उनको चलचित्र ‘ह्रस्व दीर्घ’लाई पनि कबीरलालले खिचेका थिए ।

निर्देशक समेत रहेका कबीरलालले ‘परदेश’, ‘ताल’, ‘कहो ना प्यार है’, ‘हम आपके दिल में रहते हैं’, ‘युवराज’, ‘यमला पगला दीवाना’, ‘हिरोपन्ती २’, ‘वेलकम ब्याक’ लगायत एक सयभन्दा बढी हिन्दी र अन्य भाषाका चलचित्र छायांकन गरेका छन् । उनका छोरा शाहीद लालले पनि कन्नड र तेलुगु भाषाका आधा दर्जन बढी चलचित्र खिचेका छन् ।
दुई छायाँकारसँगै निर्मात्री ढुंगानाले चलचित्रलाई वितरण गर्ने कम्पनीको पनि टुंगो लगाएकी छन् । ‘सुख-दु:ख’लाई उपत्यकाबाहिर एफडी कम्पनी र काठमाडौं उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ । दुवै कम्पनीका प्रमुखसँग आइतबार नीताले कागजी सम्झौता गरेकी हुन् । चलचित्रको निर्माण व्यवस्थापनको जिम्मेवारी शंकर पाण्डेलाई दिइएको छ ।
‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो चलचित्र २०८३ सालको दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको छ । हालसम्म फिल्मका कलाकारको बारेमा जानकारी गराइएको छैन । नीताले ‘सुख-दु:ख’ले सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्ने विश्वास लिएकी छन् ।




