कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘जहाजैमा’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार निर्माण पक्षले आरआर फिल्म्सलाई वितरणको जिम्मा दिँदै आगामी फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो । यो मितिमा ‘डबल ट्रिपल’, ‘कल्ली’ र ‘लालीबजार’ पनि प्रदर्शन हुँदैछन् ।

आगामी भदौबाट छायांकन सुरु हुन लागेको यो चलचित्रमा अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहनेछ । यसमा केदार घिमिरे, सौगात मल्ल र जापानीज नायिका रुजेल इचिमिया मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । अहिले थप कलाकार छनोटको काम भइरहेको निर्माण पक्षले बताएको छ ।
‘जहाजैमा’को छायांकन जापानमा सुरु हुनेछ । त्यसपछि नेपाल र फिलिपिन्समा खिचिनेछ । उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको चलचित्रलाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो । यो चलचित्रले नेपाल-जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्नेछ ।




