आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कल्ली’लाई नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन गरिने भएको छ । यो चलचित्र नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने निर्माता किरण नेपालीले जानकारी दिए ।

नेपालमा नेपाली भाषामा रिलिज हुने ‘कल्ली’ भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने जनाइएको छ । यो चलचित्रलाई भारतमा एम.के फिल्म डिस्ट्रिब्यूटर, पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन् । नेपालमा भने काफिया र कुबेर फिल्म्सले चलचित्र वितरणको जिम्मा लिएका छन् ।
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको ‘कल्ली’मा सौगात मल्ल, उत्तम प्रधान, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतको अभिनय रहेको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा महेश दवाडीको लेखन छ ।
यो चलचित्रले लोभको कथा भन्छ । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा चलचित्र आधारित रहेको निर्देशक सुनारले बताएका छन् । यसमा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत रहेको छ ।






