विवाहित महिलाहरुको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’को चौथो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । आयोजक संस्था रिबन इन्टरटेन्मेन्टले ललितपुरको पुलचोकस्थित द प्लाजा होटलमा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै ‘मिसेस नेपाल वर्ल्ड २०२५’को आवेदन खुला भएको जनाएको हो । प्रतियोगिताको अडिसन र फिनालेको मिति समेत सार्वजनिक गरिएको छ ।
आयोजक संस्था रिवन इन्टरटेन्मेन्टका अध्यक्ष निशुकान्त झाले प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा हुने र फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा हुने जानकारी गराए । यस वर्ष मिसेस नेपाल वर्ल्डमा हास्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री दीपिका प्रसाईं जोडिएका छन् । पत्रकार सम्मेलनमा केदार प्रमुख अतिथि र दीपिका गुडविल एम्बेसडरका रुपमा सहभागी भए ।

केदारले चौथो स्टेजको क्यान्सरसँग जुधिरहेकी एमएस नेपाल २०२३ सिता सुवेदीको उपचारका लागि ५१ हजार रुपियाँ सहयोग प्रदान गर्ने घोषणा गर्दै अन्य व्यक्तिलाई समेत उनलाई सहयोग गर्न आह्वान गरे । उनले मिसेस नेपाल विवाहित महिलाका लागि राम्रो अवसर रहेको बताए ।
गुडविल एम्बेसडर तथा अभिनेत्री दीपिका प्रसाईंले मिसेस नेपाल वर्ल्ड केवल सौन्दर्य प्रतियोगिता मात्र नभई महिलालाई आत्मविश्वाशका साथ अगाडि बढ्न हौसला दिने साझा मञ्च रहेको चर्चा गर्दै त्यसका लागि महिला स्वयंम्ले आत्मविश्वासका साथ अघि बढनुपर्ने बताइन् । विवाहपछि पनि आफूलाई अगाडि बढाउन चाहने महिलाका लागि यो राम्रो अवसर रहेको उनको भनाइ छ ।
त्यस्तै, रिबन इन्टरटेन्मेटका अध्यक्ष निशुकान्त झाले यस वर्षको प्रतियोगिता अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने जानकारी बताए । ‘यसपटकको मिसेस नेपाल वर्ल्ड प्रतियोगिता केवल सौन्दर्यको प्रदर्शन मात्र नभई महिलाहरूको नेतृत्व, आत्मविश्वास र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने गहिरो अभियानका रूपमा अघि सारिएको छ,’ झाले भने ।
झाका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि उचाइ र तौलको मापदण्ड राखिएको छैन, तर इच्छुक प्रतियोगी न्यूनतम एसएलसी उत्तीर्ण भने हुनुपर्नेछ । प्रतियोगितामा एकल महिलाले पनि सहभागिता जनाउन सक्नेछन् । आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिनेछ । प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकद्वारा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीप लगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिनेछ ।
प्रतियोगितामा कोरियोग्राफर आश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेल, सहायक कोरियोग्राफर आईना गजुरेल रहने छन् । प्रतियोगिताको समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन् । मिसेस नेपाल वर्ल्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि सोही मञ्चबाट घोषणा गरिनेछ । विजेता मिसेस नेपाल वर्ल्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।




