ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द तथा एसडी योगीको संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य जोडी पल शाह र बेनिशा हमाल नृत्य गर्दै देखिएका छन् । भिडियोमा पलले बेनिशाको रूप र ठुम्काको तारिफ गरेका छन् भने बेनिशाले बिहे गर्न २० वर्ष नपुगुन्जेल पर्खिन आग्रह गरेकी छन् । भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।
फिल्म मेकर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा पल र बेनिशासहित नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी, पवित्रा साकी मिस पबी लगायतको अभिनय रहेको छ । देउकी प्रथाको कथामा आधारित भएर बनेको ‘मोहर’का का निर्माता चुम्बन जंग शाही हुन् ।
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन, दिपेन बस्न्यातको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत रहेको छ । दुई साताअघि चलचित्रको पहिलो गीत ‘चाहिँदैन मोहर, पर्दैन सुकी’ सार्वजनिक गरिएको थियो । यो गीतलाई युट्युबमा १५ लाख बढी भ्यूज प्राप्त भइसकेको छ ।





