विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशनमा बन्न लागेको चलचित्र ‘मैझारो’मा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् । मंगलबार मिरुना र विल्सनबीच कागजी सम्झौता भएको हो । यसअघि निर्माण पक्षले मुख्य अभिनेतामा धीरज मगरलाई अनुबन्ध गरेको थियो ।

चलचित्रमा धीरज र मिरुनाका अलवा अन्य कलाकारहरुको भने टुङ्गो लागेको छैन । यसै साता कलाकारको पूर्ण लाइनअप तयार पारेर आगामी साउन पहिलो साताबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । चलचित्रलाई पूर्वी पहाडी भेग इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई विल्सन स्वयंले लेखेका हुन् । यसमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत, राजेश पायल राईको गायन तथा सौरभ लामाको छायांकन रहनेछ । पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतामा चलचित्र आधारित हुने जनाइएको छ ।




