
काठमाडौं – नेपाली सुगम सङ्गीतको बजारमा प्रेम र रोमान्सको भाव समेटिएको नयाँ साङ्गीतिक कोसेली ‘बेहाल’ श्रोतामाझ आएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहबिच वरिष्ठ सङ्गीतकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा यो गीतको अडियो तथा भिडियो एकसाथ सार्वजनिक गरिएको हो ।
गीतको भाव भूमि जति प्रेमिल छ, यसको निर्माण पक्ष उति नै फराकिलो छ । चर्चित गायक सुगम पोखरेल र गायिका रिता केसीको युगल गायन रहेको यस गीतका शब्दहरू भने सिमाना पारि भारतको कालिम्पोङबाट आएका हुन् । पेसाले भारतको पश्चिम बङ्गाल सरकारको प्राणी सम्पदा विकास विभागमा उप–निर्देशक रहेका डा. देवेन्द्र प्रधानले कोरेका शब्दहरूलाई चर्चित सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ले सङ्गीतबद्ध गरेका छन् ।
गीत विमोचन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित वरिष्ठ सङ्गीतकर्मी फणीन्द्र राईले गीतको अडियो र भिडियो दुवै पक्ष सबल रहेको भन्दै प्रशंसा गरे । यस्तै, चलचित्र सेन्सर बोर्डका सदस्य एवं पत्रकार कुबेर गिरीले बजारमा आउने असङ्ख्य गीतहरूको भीडमा ‘बेहाल’ले आफ्नो छुट्टै र स्तरीय स्थान बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा उपस्थित गीतकार अम्बिका गुरुङ र गजलकार भूपेन्द्र महतले पनि गीतको शब्द चयन, सङ्गीतको मिठास र भिडियोको प्रस्तुतिले मन छोएको प्रतिक्रिया दिए ।
गीत सार्वजनिक गर्नकै लागि कालिम्पोङबाट काठमाडौं आएका गीतकार डा. प्रधानले भूगोलले जहाँ भए पनि आफ्नो मन र मस्तिष्क सधैँ नेपाली भाषा–साहित्यमै रम्ने बताए । सन् २०१९ को कोभिड महामारीका बिच ‘थाहै नपाई’ बोलको गीतबाट लेखन यात्रा सुरु गरेका प्रधानले यस गीतका लागि करिब आधा दर्जन सङ्गीतकारलाई प्रयास गर्न दिएकोमा शङ्कर थापाको कम्पोजिसन उत्कृष्ट लागेपछि सहकार्य गरेको खुलाए ।
करिब १५ सयभन्दा बढी गीतमा सङ्गीत भरिसकेका र थुप्रै हिट गीत दिएका सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ले यस पटक आफूले फरक स्वाद पस्कने जमर्को गरेको बताए । उनले शब्दको गहिराइलाई बुझेर सरल तर मन छुने शैलीमा सङ्गीत तयार पारेको अनुभव सुनाए । उता, गायिका रिता केसीले डा. प्रधानका शब्दहरू पहिलो पटक सुन्दा नै मन परेको बताउँदै यसले श्रोताको मन जित्नेमा आफू विश्वस्त रहेको बताइन् ।
केशव राज भट्टको निर्देशनमा तयार भएको भिडियोमा मुस्ताङदेखि पोखरासम्मका दृश्यहरू कैद गरिएको छ । भिडियोमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको जीवन्त अभिनय देख्न सकिन्छ ।



