सकारात्मक ‘वर्ड अफ माउथ’को कमाल : ‘रोल नं १’ का शो अग्रिम रूपमै हाउसफूल, विद्यार्थी लिएर हल पुग्दै विद्यालय



काठमाडौं – प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको चलचित्र ‘रोल नं १’ ले अब बक्सअफिसमा सुखद व्यापारिक लय समातेको छ। दर्शकहरूबाट प्राप्त सकारात्मक ‘वर्ड अफ माउथ’ को प्रभावस्वरूप सिनेमा हलहरूमा चलचित्रका शोहरू प्रदर्शन हुनुभन्दा २४ घण्टा अगावै हाउसफूल हुन थालेका छन्। कतिपय शोहरू तीव्र रूपमा भरिँदै (फिलिङ फास्ट) गएका छन् भने हलहरूमा दर्शकको चाप उत्साहजनक रूपमा बढ्दै गएको छ।

विशेषगरी बालबालिका र शैक्षिक मनोविज्ञानमा आधारित यस चलचित्रलाई लिएर विद्यालयहरूले उच्च चासो देखाएका छन्। विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई चलचित्र देखाउनका लागि पूरै शो (हल) नै बुकिङ गर्न थालेका छन्। विद्यालयहरूको यही आकर्षणका कारण बुधबारका कतिपय शोहरू मंगलबार नै हाउसफूल भएका थिए। चलचित्रका निर्माता विनोद पौडेल दर्शकको बलियो ‘वर्ड अफ माउथ’ ले काम गर्न थालेको बताउँछन्। विद्यार्थीहरूलाई हलसम्म ल्याउने विद्यालयहरूको क्रम सुरु भएको र यो अझै बढ्नेमा विश्वस्त रहेका निर्माता पौडेलले आफूहरू यही दिनको प्रतीक्षामा रहेको प्रतिक्रिया दिएका छन्।

दर्शकहरूले यस चलचित्रलाई विद्यार्थी, शिक्षक र सम्पूर्ण अभिभावकले अनिवार्य हेर्नैपर्ने सिनेमाका रूपमा सिफारिस गरेपछि हलमा नयाँ दर्शकको सङ्ख्या थपिँदै गएको निर्माण पक्षले जनाएको छ। यसअघि निर्माता पौडेलकै ऐतिहासिक ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले पनि प्रदर्शनको चौथो दिनबाट यस्तै सकारात्मक वर्ड अफ माउथका कारण हाउसफूलको व्यापारिक रफ्तार समातेको थियो। त्यतिबेला पनि गाउँ-गाउँ र स्कुलबाट गाडी नै रिजर्भ गरेर दर्शकहरू हलसम्म आइपुगेका थिए।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भई गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनरत यस चलचित्रलाई जोन योञ्जनले निर्देशन गरेका हुन्। महेश दवाडीको लेखन रहेको सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारीको मुख्य अभिनय रहेको छ। यसैगरी, बालकलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले जीवन्त प्रस्तुति दिएका छन्। शिवराम श्रेष्ठको छायांकन (डीओपी) रहेको यस चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने छत्रमाया गिरी र रमेश चौलागाईं सह-निर्माताका रूपमा जोडिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu