काठमाडौं – चलचित्र ‘स्त्री’ को निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएसँगै निर्माण पक्षले यसको औपचारिक प्रदर्शन मिति घोषणा गरेको छ। आज सार्वजनिक गरिएको नयाँ र आकर्षक पोस्टरसँगै यो सिनेमा आगामी मङ्सिर ११ गतेदेखि देशभरका सिनेमाघरमा रिलिज हुने तय भएको हो। समीर राईको लगानीमा निर्माण भएको यस चलचित्रको निर्देशन जीवन शाहीले गरेका हुन्।

टौवा क्रिएसनले डिजाइन गरेको सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई फरक-फरक अवतार र मनोभाव (मुड) मा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमिमा प्रयोग गरिएको गाढा रातो रङ र कलाकारहरूको रहस्यमय प्रस्तुतिले यो चलचित्र सस्पेन्स तथा थ्रिलर विधामा निर्माण भएको सहजै अनुमान लगाउन सकिन्छ।
यस चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसी जस्ता स्थापित अनुहारहरू मुख्य भूमिकामा रहेका छन्। उनीहरूका अलावा सुरवीर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अञ्जु सुनार, रामबाबु हुमागाईं, कल्पना श्रेष्ठ र समीर लामालगायतका कलाकारहरूको पनि यसमा जीवन्त अभिनय रहेको छ। यस चलचित्रलाई नेपालभर एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने जिम्मा लिएका छन्।
सिनेमाको प्राविधिक पक्ष पनि निकै बलियो रहेको निर्माण टोलीले जनाएको छ। रामशरण उप्रेतीको छायांकन (डीओपी) रहेको यस सिनेमामा बाबुल गिरीको सङ्गीत र एलिस कार्कीको पार्श्व सङ्गीत (बीजीएम) सुन्न सकिन्छ। त्यसैगरी, चलचित्रमा देव महर्जन र शंकर महर्जनको एक्सन कोरियोग्राफी रहेको छ भने बन्दे प्रसादले यसलाई सम्पादन गरेका हुन्।




