
काठमाडौं – नेपाली लोक सङ्गीत तथा सञ्चार क्षेत्रले एउटा चम्किलो नक्षत्र गुमाएको छ। लामो समयदेखि मिर्गौला रोगसँग जुधिरहेका चर्चित लोकगायक तथा सञ्चारकर्मी कमल विके निर्मोहीको मङ्गलवार साँझ निधन भएको हो।
दाङको माटोमा जन्मिएर पछिल्लो समय नेपालगन्जलाई आफ्नो कर्मथलो बनाएका निर्मोहीले रेडियो नेपालमा लामो समय कर्मचारीका रूपमा सेवा गरेका थिए। रेडियो नेपालको अभिलेखालयमा उनका दर्जनौँ कालजयी गीतहरू सुरक्षित छन्। विशेष गरी ‘लाग्यो माया मोहनी नजरमा’ र ‘पोखरामा क्या राम्रो रूपाताल, डुङ्गा चढी सलल मायाजाल’ जस्ता उनका लोक भाकाले आम श्रोताको मन जितेका थिए। लोकगीतका अलवा उनले केही लोक पप र आधुनिक गायनमा समेत आफ्नो सुमधुर स्वर दिएका थिए।
गायक निर्मोहीको निधनले यति बेला सम्पूर्ण कलाकर्मी मर्माहत बनेका छन्। गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन्। वलीले निर्मोहीसँग मिलेर गाएको ‘त्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिमै मायाले’ बोलको गीत दर्शक-श्रोतामाझ निकै लोकप्रिय रहेको सुखद क्षणलाई समेत स्मरण गरेकी छन्।
करिब एक महिनाअघि मात्र निर्मोहीकी जीवनसंगिनीको दुःखद निधन भएको थियो। उनका परिवारमा हाल एक छोरा र दुई छोरी रहेका छन्।



