श्रीमतीका गहना धरौटी राखेर ‘बिर्खेलाई चिन्छस्’ बनाएको हुँ: सुवास थापा



birkhey-1
कार्यक्रममा श्रीमति विनितासँगै सुवास ।

अनिल यादव, काठमाण्डौ ।
‘विर्खेलाई चिन्छस्’ का निर्माता तथा नायक सुवास थापाले राजधानीमा विहिवार दिउँसो पत्रकारहरसँग खुलेर कुरा गरे । आफ्नी श्रीमती विनिता खड्कालाई सार्वजनिक गर्दै उनले पत्रकारहरुकै सामु उनीसँग माफी पनि मागे ।

‘मैले जिवनमा धेरै गल्तीहरु गरेको छु, तर मलाई सधै उहाँले स्वीकार्नुभयो’, छेउमै रहेकी श्रीमतीलाई इंगित गर्दै उनले पत्रकारहरुलाई भने– ‘म आज उहाँको महानतालाई सम्मान गर्दै मेरा सबै गल्तीहरुप्रति माफी माग्न चाहन्छु ।’ आफ्नो गल्तीहरुका कारण उनको श्रीमतीसँग झण्डै डिभोर्स भएको यथार्थ पनि उनले खुलेरै पत्रकारहरुलाई सुनाए ।

शुक्रवार (२० भदौ) देखि देशभरका ४० बढी सिनेमा हलहरुमा प्रदर्शन हुन गइरहेको चलचित्र ‘विर्खेलाई चिन्छस्’ ले बुधवार मात्र युनिभर्सल सर्टिफिकेट पायो । सर्टिफिकेट पाएपछि चलचित्रका विषयमा पत्रकाहरुसँग कुराकानी गर्दै चलचित्रका निर्माता सुवासले आफ्नी श्रीमती विनितालाई १० वर्ष कैद बनाएर राखेको बताए । चलचित्रमा विनिताले गरेको अभिनय देखेपछि आफुलाई त्यस्तो महसुस भएको उनले बताए । विनिता पनि यस चलचित्रमा सुवास र आयुषा राईसँगै मुख्य भुमिकामा देखिदैछिन् ।

birkhey-2

परिवारका सदस्यहरुलाई कलाकार बनाएर फिल्म खेलाएको प्रशस्त उदाहरणहरु छन् । ‘विनितालाई मेरो श्रीमती भएका कारण फिल्म खेलाएको होइन’, ‘विर्खे’ बनेका सुवासले भने– ‘उनको अभिनय अनुभव र कथामा सुहाउने पात्र भएकाले खेलाएको हो ।’ यदि उनकै कारणले चलचित्रले न्याय नपाएको देखियो भने त्यसको नैतिक जिम्मेवारी आफुले लिने सम्म उनले भने ।

करिब ४० लाख लगानीमा आफुले चलचित्र बनाएको कुरा पनि उनले पत्रकारको प्रश्नलाई नकार्न नसकेपछि खोले । उनी भन्दै थिए– ‘चलचित्रमा मैले कलाकारिताबाट कमाएको पैसा देखि श्रीमतीका गरगहना पनि राखिएका छन् ।’

यस चलचित्रको कथालाई सुपरहिट चलचित्र ‘६ एकान ६’ का कथाकार जगदिश्वर थापाले लेखेका हुन् । चलचित्रको निर्देशन अराज केशवले गरेका छन् । ‘कोहिनुर हेरेर रुनुभएका दर्शकले अब विर्खेलाई चिन्छस् हेरेर हाँस्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ’, निर्देशक र कथाकार दुवैको एउटै भनाई थियो ।

यो हप्ता सिंगल रिलिज पाएको यस चलचित्रले कोहिनुर र नेपाली अभिनेता सुनिल थापा अभिनित हिन्दी चलचित्र ‘म्यारी कोम’सँग प्रतिष्पर्धा गर्दैछ । एउटा गाउँको साधारण कथा र उसको जिवनशैलीलाई देखाएर प्रेम र कमेडी दुवै मिसाएर निर्माण भएको यस चलचित्रले दर्शकको मन जित्ला या जित्दैन्, त्यो त भोलीदेखि थाहा हुने कुरा हो ।

चलचित्रलाई सफलताको शुभकामना !

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu