‘अधकट्टी’का दुई गीत देखाउँदै ‘नमस्ते नेपाल’ र ‘प्रडक्शन नं. ३’ घोषणा



adhkatti

अनिल यादव, काठमाण्डौ ।
हिन्दीमा एउटा चर्चित भनाई छ – ‘एक काम दो शिकार’ । तर नेपाली चलचित्र क्षेत्रका एक चर्चित निर्माता प्रदिप कुमार उदयले त ‘एक काम तीन शिकार’ नै गरे ।

राजधानीमा आज एकै कार्यक्रम मार्फत उनले आफुद्वारा निर्मित बहुप्रतिक्षित चलचित्र ‘अधकट्टी’ को दुई गीत रिलिज गर्दै दुई चलचित्र निर्माणको घोषणा गरेका हुन् । संचारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्र ‘अधकट्टी’ को ‘तिम्रो फिगर कोकाकोला’ र ‘ओ ए ओ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

‘कोकाकोला’ बोलको गीतमा चलचित्र की नायिका आशिष्मा नकर्मी र नायक प्रदिप बास्तोलाको अभिनय छ । गीत ‘क्याची’ र उत्कृष्ट रहेको छ । त्यस्तै अर्का नायक गौरव पहाडीसँग अर्की नायिका रिश्ता बस्नेतको अभिनय रहेको ‘ओ ए ओ’ बोलको म्यालोडी गीत पनि सार्वजनिक भएको हो । दुवै गीतको भिडियो संचारकर्मीहरुलाई कार्यक्रममा देखाइएको थियो जसको कोरियोग्राफी चर्चित कोरियोग्राफर कविराज गहतराजले गरेका हुन् ।

‘अधकट्टी’मा प्रदिप, गौरव, आशिष्मा, रिश्ता र विल्सन विक्रम राईको मुख्य अभिनय रहेको छ । पढाईमा कमजोर दुई युवकले पैसा कमाउने चक्करमा लाग्दा भोगेका समस्याहरुलाई कमेडी शैलीमा चलचित्रमा उतारिएको बताइएको छ । चलचित्र फागुन १ गतेबाट देशभर प्रदशर्न हुँदैछ ।

‘नमस्ते नेपाल’ निर्माणको घोषणा
द्वारीका उदय प्रोडक्सन प्रा.लि.को ब्यानरमा ‘नमस्ते नेपाल’ बन्ने भएको छ । सोही कार्यक्रममा चलचित्र निर्माणको घोषणा गरिएको हो । राजु शाह निर्देशक रहने उक्त चलचित्रका निर्माताहरु प्रदिप कुमार उदय, श्याम श्रेष्ठ (बेल्जियम) र श्रीजु शाह रहनेछन् । वेल्जीयम फ्रान्स, जर्मन तथा युरोपका अन्य मूलुकहरुमा चलचित्रको छायांकन गरिने कार्यक्रममा जानकारी दिइयो ।

७५ लाखको लगानीमा बन्ने उक्त चलचित्रमा नेपाली र बेल्जियमका कलाकारहरुको भुमिका रहने बताइएको छ । चलचित्रमा सविन श्रेष्ठ, अना (वेल्जीयम), श्याम श्रेष्ठ (वेल्जीयम), गोपाल ढकाल, अडि (वेल्जीयम) र जर्ज (वेल्जीयम) को मुख्य अभिनय रहनेछ ।

दिव्य सुवेदीको छायांकन र चन्द्र पन्तको द्वन्द्व रहने उक्त चलचित्रको छायांकन तिहारपछि हुने बताइएको छ ।

यसैगरी कार्यक्रममा द्वारिका उदय प्रोडक्सन प्रा.लि.को ‘प्रोडक्सन नं. ३’ का रुपमा अर्को चलचित्र निर्माण गरिने पनि घोषणा गरियो । ऋषी लामिछानेको निर्देशनमा बन्ने उक्त चलचित्रको विषयमा अन्य जानकारी भने दिइएन । ‘चलचित्रको नाम र यसको कथावस्तुको विषयमा हामी अर्को कार्यक्रम गरेर जानकारी गराउनेछौ’, निर्देशक लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu