हिरो बन्न खोज्नेलाई होइन हिरोलाई नै फिल्ममा लिएँ: रेखा



अनिल यादव, काठमाण्डौ ।
पछिल्लो समय ‘एक्सन लेडी’ को रुपमा चिनिँदै आएकी नायिका रेखा थापा यो दशैमा ‘हिम्मतवाली’ भएर देखापर्दैछिन् । असोज १५ गते फुलपातीका दिनबाट देशभर प्रदर्शन हुन लागेको रेखाको चलचित्र ‘हिम्मतवाली’ ले एकल रिलिज को अवसर पाएको छ । जहाँ रेखा एक हिम्मतवाली यूवतीको रुपमा देखापर्ने छिन् ।

गत वर्ष फुलपातीमै रिलिज भएको रेखाको चलचित्र ‘काली’ ले विराज भट्ट अभिनित सफल भोजपुरी चलचित्रको नेपाली डब ‘दामिनी’ संग टक्कर लिएको थिए । तर ‘काली’ ले उत्साहजनक व्यापार गरिरहँदा ‘दामिनी’ भने खासै चर्चामा रहेन । यसपटक रेखाको हिम्मतवालीसंग टक्कर लिन कुनै चलचित्र आएनन् ।

धेरै हिट फिल्महरु दिँदै आइरहेको रेखा फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रबाट रेखाले निर्देशनमा समेत हात हालेकी छिन् । ‘चलचित्र क्षेत्रमा बिताएको मेरो १३ वर्षको अनुभवलाई निर्देशनमा उतार्न खोजेको छु’, रेखाले भनिन्– ‘दर्शकले स्वीकार्नु हुन्छ भन्ने कुरामा म पुर्ण विश्वस्त छु ।’

himmatwali-ad
पछिल्लो समय रेखाले नारी सशक्तिकरणमा जोड दिँदै चलचित्र बनाइरहेकी छन् । तर ‘हिम्मतवाली’ ले नारी सशक्तिकरणसँगै अपाङ्गताको विषयलाई पनि उठाएको छ । ‘हिरो बन्न लालयित केटोहरुलाई म हिरो बनाउँथे तर यसपटक दुवै हात गुमाएका ‘रियल हिरो’ सुदर्शन गौतमलाई लिएको छु’, रेखा भन्छिन्– ‘अपाङ्गता असक्षमता होइन् भन्ने कुरा उसको अभिनयले प्रमाणित गर्नेछ ।’

सम्भवत विश्वमै पहिलो पटक सुदर्शन दुवै हात नभएर पनि चलचित्रमा मुख्य पात्र बनेका व्यक्ति हुन् । दुवै हात गुमाएका सुदर्शनले सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम समेत लेखाइसकेका छन् । सुदर्शनको बारेमा रेखा भन्छिन्– ‘सामान्य मान्छेले हातले गर्ने क्रियाकलाप उसले खुट्टाले गर्छ । फाइट खेल्छ, रोमान्स गर्छ अनी गीत पनि गाँउछ । उसको अभिनय साच्चै अलौकिक छ । ’ ‘सुर्दशनको अभिनयलाई देखेर व्यवसायिक हिरोहरुलाई पनि झट्का लाग्छ’, रेखाले आत्मविश्वास हुँदै थपिन् ।

रेखा मात्र नभएर सुदर्शन आफैपनि उनको अभिनयप्रति विश्वस्त छन् । भन्छन्– ‘मलाई चलचित्रमा दर्शकहरुले दुवै हात गुमाएको व्यक्ति भनेर महसुस गर्नुको सट्टा राम्रो अभिनेताका रुपमा देख्नुहुनेछ ।’ ‘चलचित्रको कथालाई न्याय गर्न मैले सकेसम्म कुनै पनि कसरत बाँकी राखेको छैन्’, उनले थपे ।

चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा रेखाले खतरनाक स्टन्टका दृश्यहरु समेत दिएको बताएकी छिन् । बसन्त सापकोटा र टंक बुढाथोकीको संगीत रहेको यस चलचित्रका गीतहरु बजारमा अहिले चर्चित भइसकेका छन् । चलचित्रलाई रामशरण उप्रेतीले खिचेका हुन् ।

यसअघि अजम्बरी नाता, हिम्मत, किस्मत, हिफाजत, कसले चोर्‍यो मेरो मन, हमेशा ,रावण र कालीजस्ता उत्कृष्ट चलचित्र दिइसकेकी रेखाको ‘हिम्मतवाली’ को चर्चा सिनेनगरीमा व्यापक छ । अपाङ्गता परिचयपत्र भएका दर्शकले केही छुटमा चलचित्र हेर्न पाउने बताइएको छ ।

‘हिम्मतवाली सम्पुर्ण नेपाली चलचित्रकर्मी र दर्शकको चलचित्र हो’, रेखाले भनिन्– ‘ चलचित्रमा मनोरञ्जनसंगै सामाजिक सन्देश दिन खोजिएको छ,। ’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu