फागुन १५ मा आर्यनको ‘पुनर्जन्म’, फष्टलुक पोस्टर र गीत देखाईयो



aaryan-sigdel

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पछिल्ला दिनहरुमा एकै मितिमा दुई देखी तीनवटा चलचित्र सम्म प्रदर्शन हुने लर्को नै लाग्न थालेको छ । त्यहि क्रममा फागुन १५ गते पनि दुई चलचित्रले एकै मितिमा आफ्नो प्रदर्शन आरम्भ गर्न लागेका छन् । फागुन १५ गते ‘अझै पनि’ चलचित्र मात्र प्रदर्शन हुने पक्का भएता पनि सोहि मितिमा अब अर्को चलचित्र पुनर्जन्म रिलिज हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र ‘पुनर्जन्म’को एउटा रोमान्टिक गीत, एउटा मार्मिक गीतको प्रोमो रिलिज र चलचित्रको दुईवटा फष्टलुक पोष्टर रिलिज गरेको छ । प्रमुख अतिथि सभासद् एवं कालीका गुप्रका अध्यक्ष विक्रम पाण्डे, संगीतकार बसन्त सापकोटा र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले चलचित्रको गीत, फष्टलुक पोष्टर रिलिज गरेका थिए ।

कार्यक्रममा अभिनेता आर्यनले फिल्ममा आफुले सिपाहीको भूमिकामा अभिनय गरे पनि फिल्म पछिल्लो पुस्ताका लागि पनि इतिहास बन्ने दाबी गरे । ‘यो फिल्ममा मैले द्वन्द्वमा पिल्सिएको एक सिपाहीको भूमिकामा अभिनय गरेको छु’ आर्यनले भने, ‘अन्य फिल्ममा भन्दा यसमा मेरो भूमिका अलिक भिन्न छ, त्यसकारण पनि यो फिल्म २०–२२ वर्ष पछि पनि पुरानो हुँदैन, किनकी यसले एउटा इतिहास बोकेको छ ।’

shantipriya

फिल्मका निर्देशक तथा सम्पादक सजन श्रेष्ठ(सत्य)ले फिल्मले द्वन्द्वबारे जानकार नभएका पुस्तालाई द्वन्द्वको जानकारी दिने बताए । निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मले द्वन्द्वका पीडालाई प्रस्तुत गर्ने जनाए । सभासद पाण्डेले पछिल्लो समयमा नेपाली फिल्म राम्रो बन्दै गएकोमा खुशी व्यक्त गर्दै समाजलाई जागरुक र सचेत गराउने किसिमका फिल्म बनाउन आवश्यक रहेको बताए ।

एमके इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र पुर्नजन्ममा आर्यन सिग्देल, सुष्मिता शाही, गजित विष्ट, केकी अधिकारी, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठ लगायतको अभिनय रहेको छ । भद्रबहादुर शाहीले पनि चलचित्रमा लगानी गरेका छन् । फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना, अञ्जु पन्त र जितु श्रेष्ठको स्वर र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu