‘पाँच पाण्डव’ले धर्मको नाममा कसैलाई नराम्रो देखाएको छैन : हरिवंश



‘पाँच पाण्डव’ प्रदर्शनपछि हलमा सञ्चारकर्मीसँग कुरा गर्दै हरिवंश आचार्य

काठमाडौं । विवादकै बीच शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘पाँच पाण्डव’का प्रमुख कलाकार हरिवंश आचार्यले चलचित्रले धर्मको नाममा कसैलाई नराम्रो नदेखाएको दाबी गरेका छन्। प्रदर्शनपछि दर्शकको प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हल पुगिरहेका उनले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

हरिवंशका अनुसार चलचित्र हेरेका सबै दर्शकले यसलाई निकै मन पराएको बताइरहेका छन्। उनले ‘पाँच पाण्डव’लाई परिवारसँगै बसेर हेर्न मिल्ने चलचित्रका रूपमा चिनाए।

प्रदर्शनअघि उठेको विवादबारे बोल्दै उनले चलचित्रमा धर्म वा कसैको भावनामा चोट पुग्ने कुनै काम नगरिएको स्पष्ट पारे। यस्तो काम गर्नु पनि नहुने उनको भनाइ थियो। चलचित्र सत्यको बाटोमा कति इमानदार भएर हिँडेको छ भन्ने कुरा प्रदर्शनपछि आफैं प्रमाणित भएको उनको दाबी छ।

प्रदर्शनअघि विश्व हिन्दू परिषद्ले चलचित्रप्रति आपत्ति जनाउँदै चलचित्र विकास बोर्डसमक्ष छानबिनको माग गरेको थियो। सोही विवादका कारण चलचित्रले अपेक्षाअनुसार बक्सअफिस व्यापार गर्न नसकेको बताइएको छ। तर मनोरञ्जनसँगै सन्देश पनि भएको भन्दै दर्शकले भने सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

वसन्त निरौलाको निर्देशन रहेको चलचित्रको कथा सुशील पौडेलले लेखेका हुन्। चलचित्रमा हरिवंशसँगै आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, सुशील सिटौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र इभा गिरीलगायतको अभिनय छ। नवीन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu